नारायणी नदीको बहाव उच्च : गण्डक ब्यारेजको ३६ वटै ढोका खोलियो
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ८, बिहिबार (४ साल अघि)
१२३० पाठक संख्या
८ असोज,काठमाण्डौं – नारायणी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ ।
नारायणी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेपछि नेपाल तर्फको १८ र भारत तर्फको १८ गरी ३६ वटा ढोका खोलिएको हो ।
तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेसँगै जोखिम बढेकाले ब्यारेजका सबै ढोका खोलिएको नवलपरासी पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिहं माझीले जिएनएनलाई जानकारी दिए ।
उनका अनुसार नारायणी नदी र देवघाट नदीले खतराको तह पारे गरेसँगै उच्च सर्तकता अपनाइएको छ । अझै पानीको बहाव बढने संकेत देखिएको छ । अहिले देवघाटमा ८.३ मिटर पानीको बहाब छ भने नारायणी नदीले ११.६ मिटर पानीको बहाव रहेको छ । देवघाटमा ७.३ मिटर माथि पुगेपछि खतराको तह पार गरेको बन्ने बुझिन्छ । यस्तै नारायणीमा ११ मिटर माथि पुगेपछि खतरा तह पुगेको बुझिन्छ ।
ब्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पश्चिम नवलपरासीलाई जोडेको छ । ब्यारेजमा अहिले ३ लाख ५० हजार क्यूसेक प्रति सेकेण्ड पानीको बहाव छ । यो बढ्ने क्रममा छ । बाल्मिकी नहरमा हाल ३ लाख ६१ हजार १० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव छ । देवघाट क्षेत्रमा पानीको सतह खतरामा पुगेको छ । उक्त पानी क्रमशः बग्दै आएको र त्यसले ब्यारेजलाई समेत जोखिममा पार्ने भएकाले सजगता अपनाइएको छ ।
यसैबीच गण्डकमा पानीको सतह बढ्दै गएपछि तटिय क्षेत्रका स्थानीयलाई सजगता अपनाउन आग्रह गरिएको सहायक जिल्ला अधिकारी माझीले जानकारी दिए । उनका अनुसार हालसम्म क्षति पुयाएको छैन । यसअघि बाढीमा २ जना बेपता भएका थिए ।