शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ७, बुधबार (४ साल अघि)
१५०३ पाठक संख्या
७ असोज पोखरा – पोखरा महानगरपालिका ३१ बनपोखरीबाट १ थान बाघको छाला, सालकको खपेटा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका ४ घर भएका २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् । प्रहरीले लामिछानेलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं.३ ०२ ०११ प ७८०६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा लुकाई ल्याएको उक्त आखेटोपहार फेला पारी मोटरसाइकल चालक लामिछानेलाई पक्राउ गरेको हो ।
खान्तलासी गर्ने क्रममा उनको साथवाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७ सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा समेत फेला परेको प्रहरीले बताएको छ । बरामद सामान सहित उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।