अनसनको ८ दिनमै किन काठमाण्डौं फर्किंन चाहन्छन् डा.गोविन्द केसी
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन ५, सोमबार (४ साल अघि)
१०९२ पाठक संख्या
५ असोज, काठमाडौं – स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १९ औं सत्याग्रह सुरु गरेका डाक्टर गोविन्द केसी काठमाडौं फर्किने तयारी गरेका छन् ।
सोमबार डाक्टर केसीले एक बिज्ञप्ती जारी गर्दै १९औं अनसन सुरु गरेको ८औं दिनमा, अब काठमाडौंमै पुगेर सत्याग्रह जारी राख्ने बताएका छन् । डा.केसीले दुई वर्ष अगाडि जुम्लामै सत्याग्रहका क्रममा भएको तोडफोडलाई स्मरण गर्दै फेरि पनि त्यस्तै संकेत देखिएकोले आफू काठमाडौंमै फर्किएर सत्याग्रह जारी राख्ने भन्दै काठमाण्डौं फर्किने तयारी गरेको जानकारी दिएका छन् ।
‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड ग¥यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं ।’ बिज्ञप्तीमा भनिएको छ ।
सत्याग्रहको ८औं दिनसम्म पनी सरकारले माग पुरा गर्ने कुनै प्रयास नगरेको र उल्टै सत्याग्रह स्थलबाट अपहरण शैलीमा अस्पताल पु¥याएको समेत आरोप लगाएका छन् । उनले जुम्लामा सत्याग्रहका क्रममा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद दिदै आफ्ना सबै मागहरु पूरा गराएर मात्रै सत्याग्रह टुंगिने समेत बताएका छन् ।
यसपटक डाक्टर केसीले पहिलेका सहमति कार्यान्वन हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने लगायतका माग राख्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सत्याग्रह सुरु गरेका थिए ।