८ भदौ, काठमाडौं- कोभिड १९ संक्रमितको पछिल्लो तथ्यांकले काठमाडौंको अवस्था अत्यन्तै चिन्तित बनेको स्वास्थ्य मन्त्रालयले बताएको छ । काठमाडौं उपत्यकामा विहिवारसम्म करिव ३ हजार सक्रिय संक्रमित पुगेका छन् । पछिल्ला केही दिनमा दैनिक एक सय पचास देखी दुई सयसम्म संक्रमित फेला पर्न थालेपछि स्थिति गम्भिर बन्न थालेको हो ।
मानिसहरुले अटेरी गरिरहने हो भने अझै पनि भयावय अवस्था आउने चिन्ता व्यक्त गरेको छ । आइतवारसम्मको तथ्यांक हेर्ने हो भने उपत्यकाका तीन जिल्लामा २ हजार ९६५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । भक्तपुर र ललितपुरको तुलनामा काठमाडौं जिल्लामा जनसंख्या अत्याधिक रहेको छ ।
सरकारी तथ्यांक हेर्ने हो भने उपत्यकामा करिव ५० लाख व्यक्ति बसोबास गरिरहेका छन् । काठमाडौंमा आइतवारसम्म २ हजार ३६८ सक्रिय संक्रमित रहेका छन् । ललितपुरमा ३६६ र भक्तपुरमा २३१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । अहिलेसम्म उपत्यकामा कुल संक्रमितको संख्या ३ हजार २६२ पुगेको छ । तर, संक्रमित निको हुने दर भने तथ्यांकले न्युन देखाएको छ । हालसम्म केवल २९७ जनामात्रै निको भएको देखाएको छ ।
काठमाडौं महानगरपालिकामा संक्रमणको स्तर भयानक रहेको छ । काठमाडौंमा मात्रै शनिवारसम्म १ हजार ६०६ जना संक्रमित फेला परेका छन् । ३२ वटा वडामध्ये दुई वडामा १ सय भन्दा बढि संक्रमित फेला परेका हुन् । वडा नम्बर ३२ कोटेश्वरमा १२३ र वडा नम्बर २ महाराजगञ्जमा ११९ जना संक्रमित छन् । शनिवारसम्म महानगरमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरले तयार पारेको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा धेरै वडा नम्बर १० बानेश्वर क्षेत्रका छन । बानेश्वर क्षेत्रमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । त्यस बाहेक वडा नम्बर २७ महावौद्धमा २ जना, वडा नम्बर ४ बालुवाटारमा १ जना, वडा नम्बर १२ टेकुमा १ जना र वडा नम्बर २० भीमसेनस्थानमा १ जनाको मृत्यु भएको महानगरले जनाएको छ ।
महानगरको तथ्यांक अनुसार कुल संक्रमितमध्ये १८८ जना निको भएर घर फर्किएका छन् । महानगरले निको भएकाहरूको यकिन तथ्यांक अझैं पूर्ण रुपमा आइनसकेको जनाएको छ । कतिपय होम आइसोलेशनमा बसेको र निको भएपछि जानकारी नगराउने भएका कारण यकिन विवरण नआएको बताएको छ । त्यस्तै आइतबार काठमाडौंमा जिल्लाभरीमा १२६ जना कोरोना संक्रमित थपिएका छन् । उक्त तथ्यांक महानगरले यसमा अद्यावधिक गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौंको अवस्थाले आफुहरुलाई चिन्तित बनाएको बताएका छन् । ‘काठमाडौंमा बढिरहेको कोभिड–१९ सक्रमितको संख्याले हामीलाई बहुत चिन्तित बनाएको छ’, उनले भने,‘काठमाडौंमा संक्रमणको दर बढिरहेको छ । झण्डै ५० लाख व्यक्ति बसोबास गर्ने यस उपत्यकामा समुदायस्तरमा पुग्यो भने यसलाई रोक्न धेरै गाह्रो हुनेवाला छ ।’ उनले ‘केस इन्भेस्टिगेशन’ र ‘कन्ट्रयाक्ट टे«सिङ’का लागि प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत सबै पालिकाहरुमा समन्वय गरी छिटो छरितो गर्ने कार्य शुरु भएको बताए । साथै पोजेटिभ पाउने वित्तिकै स्वास्थ्य टोलीले पनि तत्कालै सम्पर्क गर्ने जानकारी प्रवक्ता गौतमले दिए ।
२० हजार परीक्षण हुने
उपत्यकामा समूदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने भएको छ ।
नगरपालिका फोरमका पदाधिकारीको बैठकले समुदायस्तरमै पुग्न सक्ने खतरा रहेको औल्याउदै कम्तीमा पनि तत्कालै २०हजार टेस्टिङ गर्ने निर्णय गरेको हो । कोभिड१९ बारे थप छलफल गरी निर्णयमा पुग्न सोमबार उपत्यका नगरपालिका फोरमको बैठक बोलाइएको छ ।
उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङ गर्ने हाम्रो योजना छ’ फोरमका महासचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्राक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय गरी तालिका नै बनाएर अघि बढछौँ ।’
८१८ नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट ८१८ नयाँ संक्रमित देखिएका हुन् । उनीहरुमध्ये २२० महिला र ५९८ पुरुष छन् । हालसम्म ६ लाख चार हजार ४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आइतवार उपत्यकामा देखिएका थप १६६ कोरोनाका संक्रमितमध्ये काठमाडौँका १६६, लतिपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार ४१४ जना रहेका छन् ।
कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्साको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए । तर, यसबाहेक पनि आइतवार रुपन्देहीमा दुई, धरानमा एक व्यक्तिको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।
अहिले होम आइसोलेशनमा रहेका बिरामीको संख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका संक्रमितको सङख्या आठ हजार ७२४ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या जम्मा १३ हजार १५५ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् । होम आइसोलेशनमा तीन हजार ९४३ जना छन् । आइसियुमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् । सौर्य दैनिकवाट
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar