पार्टी एकता पछि नसोचेको परिवर्तन भयो : नेकपा अध्यक्ष प्रचण्ड
प्रकाशित मिति: २०७६ फागुन २, शुक्रबार (४ साल अघि)
७४४ पाठक संख्या
२ फागुन, धादिङ – नेपाल कम्युनिष्ट पार्टि नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता पछि देशमा कसैले सोच्नै नसकेका परिवर्तनहरु भएको बताएका छन् ।
शुक्रबारदेखी धादिङ सदरमुकाममा धादिङवेशीमा सुरु भएको सातौं धादिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता पछि कसैले सोच्नै नसकेका परिवर्तनहरु भएको र असम्भव भनेका कुराहरु समेत विस्तारै सम्भव हुँदै गएको समेत बताए ।
अध्यक्ष प्रचण्डले एक अर्कालाईमा निशेध गर्ने, एक अर्कालाई हिसां र प्रतिहिंसाकै बलमा सिध्याउछु भन्नेहरु हात मिलाउने ठाउँमा आएको, शान्ती सम्झौता भएको, र संविधान सभाको निर्वाचन सम्पन्न जस्तो लगायतका अकल्पनिय कामहरु भएकोे बताए ।
प्रचण्डले अहिलेको सरकारले सपना पनि देख्ने अरुलाई पनि सपना देखाउने र देखाएको सपना पूरा गर्ने कुरामा समेत अडिग रहेको भन्दै तिब्बतबाट रेल आउने कुरा र पानीजाहाजका कुरामा विभिन्न चरणका कुरामा चीन सरकार र सम्बन्धीत निकायहरुसंग पटक पटकको वार्ता र सम्झौता भैरहेको बताए ।
उनले केरुङबाट गल्छी हुँदै भारतको ठोरीसम्मको त्रिदेशीय मार्ग पनि सम्पन्न हुने चरण भइसकेको र तिब्बतबाट रेल काठमाडौं, धादिङ, पोखरा हुँदै लुम्बिनी लैजानै रणनीति अगाडि बढी सकेको समेत बताए ।
भनेकै समयमा नेपालमा रेल नआए पनि आगामी १० वर्ष भित्रै नेपाल विकासको नमुना र मूल्यांकन गर्न लायक र अरु देशसँग तुलना गर्न लायक भइसक्ने समेत दाहालले बताए ।
दाहालले नेपालमा गरेको लगानीबाट नाफा गरेर आफ्नो देशमा लैजाने वातावरण भए मात्रै वैदेशिक लगानीकर्ता आउने समेत बताए् । पहिले स्वागत गर्ने लगानीको प्रतिफल लैजाने बेला तर्साउने विधिले वैदेशिक लगानी स्वतः घटने समेत दाहालले बताए ।
बुढिगण्डकी परियोजना बारे बोल्दै प्रचण्डले बुढिगण्डकी जलविद्युत परियोजना जति तिव्र गतिमा निर्माणको काम अघि बढ्नुपर्ने भएपनी त्यस्तो नभएको र अब छिट्टै परियोजना निचोडमा पुग्ने समेत प्रतिवद्धता व्यक्त गरे । बुढिगण्डकी जलविद्युत परियोजना सफल भए नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने समेत बताए । बहुआयामिक महत्वपूर्ण बुढिगण्डकी जलविद्युत परियोजनाले नेपालको अर्थतन्त्रमा र धादिङ तथा गोरखाको जनताको जिवनस्तरमा समेत गुणात्मक परिवर्तन ल्याउने प्रचण्डले बताए ।
धादिङ र गोरखा जिल्ला मात्र नभर्य समग्र नेपालको विकासको लागि पनी बुढिगण्डकी जलविद्युत आयोजना मुख्य रहेको समेत प्रचण्डले बताए । धादिङ र गोरखा जिल्लाको आर्थिक समृद्धिमा बिषेष योगदान र्पुयाउन सक्ने प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको र अब डुबानबाट पिडित हुने घरपरिवारलाई पुनर्वास तथा पुर्नस्थापना प्रक्रिया अगाडि बढाई आयोजनाको निर्माण प्रक्रिया अघि जाने कुरामा ढुक्क हुन समेत उनले आग्रह गरे ।
महोत्सव उद्घाटनका क्रममा आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले खुला अर्थतन्त्र लागु गरेको देशमा ठूला उद्योगपतिहरुलाई वर्तमान सरकारले तर्साएर लगानीमैत्री वातावरण बिथोल्न लागेको, पार्टी निकट भ्रष्टाचारीहरुलाई जोगाउने र प्रतीपक्षका उद्योगपतीहरुलाई मुद्दा लगाएर तर्साउने गरेकोे आरोप लगाए ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने नारा सहित शुक्रबारदेखि सातौं धादिङ महोत्सव सुरु भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको आज नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो ।
महोत्सव अवधिभर २ लाख दर्शकले अवालोकन गर्ने र ५ करोड भन्दा बढि कारोबार हुने लक्ष्य राखिएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा सुरु भएको महोत्सवमा आज धादिङवशीको पुछारबजार देखि विभिन्न जातजाती र भाषाभाषीको झाँकी प्रदर्शन गरिएको थियो ।
जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका छन् ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रदर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल समेत राखिएको छ ।