काठमाडौं – सिंहदरबारमा मेलम्चीको पानी जडान गर्ने निर्णयपछि त्यसको कार्यान्वयनमा तीव्रता आएको छ। ८ वैशाखमा बसेको सचिवहरूको बैठकले सिंहदरबारभित्र रहेका सबै मन्त्रालयमा मेलम्ची खानेपानी जडान गर्ने निर्णय गरेसँगै, १० वैशाखमा खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबारमा अबदेखि बोतल र जारको पानी प्रयोगमा पूर्ण रोक लगाइने घोषणा गरेका थिए।
मन्त्री यादवले सिंहदरबारको विभिन्न स्थानमा मेलम्चीको पानी झार्ने धारा निर्माण तथा मर्मतको स्थलगत अनुगमन गरेका थिए। उनले वैशाखको अन्तिम साताभित्रै सफा र शुद्ध मेलम्चीको पानी सिंहदरबारभित्र आपूर्ति हुने दाबी समेत गरे।
तर उक्त दाबी कार्यान्वयनमा प्राविधिक चुनौती देखिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का एक अधिकारीका अनुसार सिंहदरबारभित्र जडान गरिएका अधिकांश पुराना धाराहरू ‘चेनब्रेक’ भएका कारणले अहिले पानी झार्न सक्ने अवस्थामा छैनन्। “मन्त्रीज्यूको निर्देशनपछि काममा तीव्रता आएको हो, तर यो वैशाख मसान्तसम्म मेलम्चीको पानी आपूर्ति सम्भव हुने स्थिति छैन,” ती अधिकारीले बताए।
हाल सिंहदरबारमा रहेका विभिन्न मन्त्रालय र प्रशासनिक कार्यालयलाई दैनिक ५ लाख ८० हजार लिटर खानेपानी आवश्यक पर्ने केयूकेएलका प्रवक्ता प्रकाश राईले जानकारी दिए। यति ठूलो परिमाणमा पानी आपूर्ति गर्नका लागि पर्याप्त धारा, लाइन र प्रणाली निर्माण तथा मर्मत समयमै सम्पन्न नहुँदा मेलम्चीको पानी नियमित आपूर्ति गर्ने लक्ष्यमा चुनौती देखिएको छ।
यस सन्दर्भमा खानेपानी मन्त्रालय, केयूकेएल र सिंहदरबार प्रशासनबीच समन्वय गरेर तत्काल आवश्यक संरचना निर्माण तथा सुधार कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता देखिएको छ। बोतल र जारको पानी प्रतिबन्धको घोषणासँगै वैकल्पिक स्रोतको व्यवस्था नगरी मेलम्चीको पानी वितरणमा ढिलाइ भए प्रशासनिक कामकाज प्रभावित हुने सम्भावना पनि रहेको छ।
मेलम्ची खानेपानी परियोजना काठमाडौं उपत्यकाका लागि दीर्घकालीन समाधानका रूपमा हेरिएको भए पनि त्यसको प्रभावकारी उपयोग र वितरण प्रणाली बलियो बनाइनु आवश्यक देखिन्छ। सिंहदरबारको उदाहरणले मेलम्ची पानी वितरणमा अझै पनि व्यवहारिक समस्या बाँकी रहेको पुष्टि गरेको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar