एजेन्सी – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान सुरु भएको छ । हसिनासँगै उनको सरकारका यातायातमन्त्री ओबाइदुल क्वान्दरसहित अन्य ६ उच्च अधिकारीहरूमाथि पनि अनुसन्धान हुने बताइएको छ ।
गत जुलाई महिनामा भएको आन्दोलनका क्रममा एक जना मारिएको घटनालाई जोडेर उनीहरूविरुद्ध उजुरी परेको छ । एक व्यक्तिका तर्फबाट उजुरी दिएका अधिवक्ता मामुन मियाका अनुसार राजधानी ढाकाको एक अदालतले त्यहाँको प्रहरीलाई उजुरी परेका व्यक्तिहरूविरुद्ध ज्यान मुद्दा स्वीकार गर्न आदेश दिएको छ ।
अदालतका म्याजिस्ट्रेट राजेश चौधरीले उक्त आदेश जारी गरेका हुन् भने हसिनाविरुद्ध आन्दोलन सुरु भएपछि उनीविरुद्ध जारी भएको यो पहिलो आदेश हो । बंगलादेशी कानुन अनुसार यस्तो आदेशलाई फौजदारी अनुसन्धानको पहिलो चरण मानिन्छ ।
किन पर्यो उजुरी
यसै महिनाको सुरुमा शेख हसिना बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिई भारत गएकी थिइन् । त्यसअघि तीन साताभन्दा बढी समयसम्म त्यहाँ उनीविरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूको नेतृत्वमा हिंसात्मक आन्दोलन भएको थियो । उनकै आदेशमा प्रहरीले दर्जनौँ आन्दोलनकारीलाई गोली हानेर मारेको बताइएको छ । आन्दोलनका क्रममा ४०० जनाभन्दा बढीको ज्यान गएको थियो ।
समाचारहरूका अनुसार हसिनाले आन्दोलनरत विद्यार्थीहरू विद्यार्थी नभई देशमा अस्थिरता ल्याउन निस्किएका आतंककारी भएको बताउँदै आन्दोलन दबाउन निर्देश दिएकी थिइन् । आन्दोलन भइरहेका बेला सडक पार गर्ने क्रममा स्थानीय किराना पसले अबु साईदलाई टाउकामा गोली लागेपछि व्यवसायी आमिर हाम्जाले गत जुलाई महिनामै हत्या आरोपमा हसिनामाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै आवेदन दिएका थिए ।
बीबीसी बंगलाका अनुसार गत १९ जुलाईमा प्रहरीले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि जथाभाबी गोली चलाउने क्रममा साईदलाई लागेको भनी हाम्जाले स्थानीय अदालतलाई बताएका छन् । उनका अनुसार उनको सईदसँग कुनै नाता पर्दैन तर उनको परिवारसँग मुद्दा हाल्न पैसा नभएकाले उनले सहयोग गरेका हुन् ।
‘शेख हसिनाको अपराधविरुद्ध कानुनी कदम चाल्न हिम्मत गर्ने पहिलो सर्वसाधारण नागरिक हुँ म। म यसलाई टुंगोमा पुर्याउँछु,’ उनले समाचारसंस्था रोएटर्सलाई बताएका छन् । निरन्तर १५ वर्षसम्म सत्तामा रहेकी हसिनामाथि व्यापक मानवअधिकार उल्लंघन र भ्रष्टाचारको आरोप लाग्ने गरेको छ ।
को हुन् शेख हसिना
बंगलादेशमा गत जनवरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन् । सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग गर्नुपर्यो । यो उनको पाँचौँ कार्यकाल थियो । यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन ।
उनी राजीनामा दिएर विदेश पलायन हुन बाध्य भइन् । हसिना पलायन भएसँगै बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनेको छ । यसका केही आन्दोलनकारी नेताहरू पनि सामेल छन् । निर्वाचन घोषणा भएपछि हसिना पनि स्वदेश फर्कने उनका छोरा सजीव वाजेदले बताएका छन् ।– बीबीसी नेपाली
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar