काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टी निकट मुस्लिम ईत्तेहाद सङ्गठन नेपालले बङ्गलादेशको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्दै बङ्गलादेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र नेपाल फर्कन चाहनेहरूलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।
आज सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्गठनले बङ्गलादेशमा रहेका विद्यार्थी, व्यापार व्यवसायी, पर्यटक लगायतका नेपाली नागरिकको सुरक्षा र नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको हो । सङ्गठनका अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य ताज मोहम्मद मियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिले परिस्थितिमा खल्ला सिमानाको कारण बङ्गलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको भन्दै विगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी शरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रति पनि चनाखो रहन र उच्च सतर्कता अपनाउन साथै सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यानदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तिमा भनिएको छ – नेपाल र बङ्गलादेशबीच सन् १९७१ देखि हालसम्म मित्रवत सम्बन्ध रहँदै आएको कुरा अवगत नै छ । पछिल्लो समय त्यहाँका विद्यार्थीहरूले असमान आरक्षण कोटा लगायत अन्य अधिकारको पक्षमा गरेको आन्दोलनबाट सिर्जित अवस्थाका बारेमा मुस्लिम ईत्तेहाद सङ्गठन नेपाल जानकार छ । आन्दोलनबाट ज्यान गुमाउने व्यक्तिका परिवारजनमा सहानुभूति र समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । हाम्रो सङ्गठन सार्वभौमसत्ता सम्पन्न बङ्गलादेशी जनता र त्यहाँका राजनीतिक दलहरू तथा नागरिक अगुवाहरू संयमित हुँदै बङ्गलादेशमा लोकतन्त्रको निरन्तरता, नागरिक अधिकार र मानवअधिकारको पूर्ण सुरक्षा, धार्मिक स्वतन्त्रता र आमजनताको अमनचैन बहालीको आह्वान गर्दछ ।
हाम्रो देश नेपालमा रहेको उन्नत नागरिक अधिकार र मानवाधिकार, धार्मिक र जातीय सहिष्णुयुक्त अभ्यासबाट हुर्केको हाम्रो गौरवशाली संगठन मुस्मिल इत्तेहाद सङ्गठन नेपाल, मित्रराष्ट्र बङ्गलादेशको उक्त आन्दोलनमा कुनै पनि पक्षबाट भएको मानवअधिकार उलङ्घन, जातीय र धार्मिक स्वतन्त्रताको उलङ्घनको किमार्थ समर्थन गर्न सक्दैन र कुनै पक्षबाट गर्नु हुदैन भन्ने स्पष्ट मान्यता राख्दछ । हामी बङ्गलादेशको आन्दोलनबाट उत्पन्न घटनासँग जोडेर सामाजिक सद्भाव, धार्मिक सहिष्णुता नचाहने केही तत्वहरूले फैलाउन खोजिरहेका गलत क्रियाकलापप्रति असहमति र विरोध जाहेर गर्दछौँ । जातीय, धार्मिक र सामुदायिक सद्भाव बिथोल्ने त्यस्ता क्रियाकलापबारे सरोकारवाला पक्षलाई समयमै सचेत बन्न पनि अनुरोध गर्दछौँ ।
साथै बङ्गलादेशमा रहेका नेपाली नागरिकको विद्यार्थी, व्यापार व्यवसायी, पर्यटक आदि ) सुरक्षा र नेपाल फर्कन चाहनेलाई सकुशल फिर्ताको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गर्दछौँ । साथै, खुल्ला सिमानाको कारण बङ्गलादेशबाट विस्थापित भएका मानिसहरू नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहन्छ । त्यसैले विगतमा सुनियोजित रूपमा रोहिंग्या र भुटानी शरणार्थीलाई नेपाल प्रवेश गराएको जस्तैगरी प्रवेश हुनसक्ने क्रियाकलापप्रति नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन र सबै तहमा सुरक्षा व्यवस्थापनमा विशेष ध्यानदिन अपिल गर्दछौँ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar