पेरिस – पेरिस ओलम्पिक २०२४ को भव्यताका साथ समापन भएको छ । आप्रवासी टोली र स्वतन्त्रसहित २०६ टोलीले २७ जुलाईदेखि भएको महोत्सवमा ३२ खेलमा ३२९ इभेन्ट समावेश थिए । ओलम्पिकमा अमेरिकाले स्वर्ण पदकमा चीनसँग बराबरी गर्दै पहिलो स्थान पायो । दुवै टोलीले ४० स्वर्ण पदक जिते । अमेरकाले ४४ रजत तथा ४२ कास्य पदक हात पारेको हो । चीनले २७ रजत तथा ४० कास्य पदक जित्यो । तेस्रो भएको जापानले २० स्वर्ण, १२ रजत तथा १३ कास्य पदक जित्यो ।
धेरै खेलाडी प्रतिस्पर्धाका बीच रजत पदकमा चित्त बुझाउन बाध्य भएपछि अमेरिका मुस्किलले पहिलो भएको हो । चीनको यो सफलतामा डाइभिङ र टेबलटेनिस मुख्य बने । डाइभिङमा रहेका ८ तथा टेबलटेनिसमा रहेका ५ स्वर्ण सबै चीनले जितेको हो । अमेरिकालाई सफलता दिलाउन एथलेटिक्सको भूमिका सबैभन्दा महत्वपूर्ण थियो । एथलेटिक्समा अमेरकाले १४ स्वर्ण पदक जित्यो ।
महिला १०० मिटरमा सेन्ट लुसियाकी अल्फ्रेड जोन्सनले अमेरिकाकी साकारी रिचर्डसनलाई स्तब्ध पारिन् । यसैगरी, नोह लायस कोभिड संक्रमित भएपछि १०२ डिग्री ज्वरोको बीचमा प्रतियोगितामा सहभागिता जनाएका थिए । स्वर्ण पदकका प्रबल दाबेदार उनी कास्य पदकमा सीमित भए । पुरुष ४ गुणा १०० मिटर रिलेमा अमेरिकी टोली दाबेदार भए पनि ब्याटन साट्दा भएको कमजोरीले अयोग्य घोषित भएको थियो ।
१ दिनअघि १ स्वर्ण पदकको अग्रता लिएको चीनका लागि अन्तिम दिन भारोत्तलनको महिला ८१ किलोभन्दा माथिको तौल समूहमा लि वेन लीले स्वर्ण पदक जितिन् । २ स्वर्ण पदकले पछि परेको अमेरिका ४ स्वर्णका लागि प्रतिस्पर्धामा थियो । महिला भलिबलको फाइनलमा इटालीले अमेरिकालाई सोझो सेटमा हरायो । कुस्तीको महिला फ्रिस्टाइल ७६ किलोमा अमेरिकाकी केनेडी एलेक्सिस पनि जापानकी युका कागामीसँग पराजित भइन् । साइक्लिङको महिला अपपिमममा अमेरिकाकी जेनिफर फालेन्टीले स्वर्ण पदक जितिन् । प्रतियोगिताको अन्तिम स्पर्धा महिला बास्केटबलमा फ्रान्सलाई हराउँदै अमेरिका तालिकामा पहिलो भएको हो ।
सन्तोषी ७८औँ स्थानमा
अन्तिम प्रतिस्पर्धी रूपमा रहेकी नेपालकी सन्तोषी श्रेष्ठ म्याराथनमा ७९औँ स्थानमा रहिन् । ८० जनाले रेस पूरा गरेका थिए । उनीभन्दा पछि भुटानकी लामो किन्जाङ रहेकी छिन् । सन्तोषीले २ घन्टा ५५ सेकन्डमा दौड पूरा गरेकी ह्न् । सो समय विजेता नेदरल्यान्डकी सिफाना हसिनको भन्दा ३२ मिनेट ११ सेकेनड ढिला हो । हसनले २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा दुरी तय गरेकी हुन् । इथोइपियाकी टिस्ट असिफाले २ घन्टा २२ मिनेट ५८ सेकेन्डमा रेस पूरा गरिन् । केन्याकी हेलेन ओरबीले २ घन्टा २३ मिनेट १० सेकेन्डमा रेस पूरा गरेकी हुन् ।
नेपालका ७ जना खेलाडी सहभागी भए पनि स्यान्टु श्रेष्ठ मात्र छनोट भएका हुन् । एथलेटिक्समा वल्र्ड एथलेटिक्सले ताकेको योग्यताभन्दा नेपाल धेरै पछि भए पनि वाइल्डमार्फत सहभागिता भएको हो । ओलम्पिकमा एथलेटिक्स र पौडीमा योग्यता र मापदण्ड पूरा नभए पनि सबै देशलाई सहभागी गराउने नीति छ । यसपटक युक्रेनमा भएको आक्रमणमा रुस र बेलारुसमाथि लागेको प्रतिबन्धका कारण धेरै खेलमा कोटा खाली भएकाले वाइल्ड कार्ड धेरै वितरण भएको हो ।
ओलम्पिकमा चर्चाका घटना
इमाइन खालिफ यस ओलम्पिकको अर्को चर्चाका कारण बनिन् । अल्जेरियाकी मुक्केबाज उनले फाइनलमा चिनियाँ खेलाडीलाई हराएर स्वर्ण पदक जितिन् । उनको जित अन्यको भन्दा धेरै अर्थमा विशेष पनि थियो ।
गत वर्ष भएको विश्व च्याम्पियनसिपको दौरान विश्व बक्सिङ महासंघले उनको जेन्डर आइडेन्टीटीलाई पुष्टि गर्न नसकेको भन्दै प्रतिबन्ध लगाएको थियो । यसै वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बक्सिङ महासंघको निर्णयलाई आधारहीन भन्दै उनलाई खेल्न दिएको थियो । सो सफलतासँगै बक्सिङमा स्वर्ण पदक जित्ने महिला अल्जेरियाली महिला मात्र भएकी छैनन्, पहिलो अफ्रिकी तथा पहिलो अरब महिला समेत भएकी छन् ।
यस ओलम्पिकमा सबैले सम्झनलायक व्यक्तिको रूपमा सेन्ट लुसियाकी धाविका जुलियन अलफ्रेड भइन् । उनले महिला १०० मिटर दौडको उपाधि जितेर संसारलाई आश्चर्यमा पारिन् ।
शनिबार साँझको समयमा चीनको तुलनामा पदक तालिकामा धेरै पछि अमेरिकालाई तालिकाको प्रतिस्पर्धामा फर्काउने क्रममा टिम गेमका २ स्वर्ण पदक रहेका थिए । महिला फुटबलको स्वर्ण ब्राजिललाई १–० ले हराउँदै अमेरिकाले जितेको हो । यस ओलम्पिकमा क्वार्टर फाइनलदेखि अमेरिकाले विपक्षीलाई १–० कै अन्तरले हराएको हो । सन् २०१२ को लन्डन ओलम्पिकपछि अमेरिकाले पहिलोपटक महिला फुटबलको उपाधि जितेको हो ।
पुरुष बास्केटबलमा अमेरिकाले फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको हो । अमेरिका लगातार पाँचौँपटक च्याम्पियन भएको हो । उपाधि यात्रामा अमेरिकाले सर्बियासँगको सेमिफाइनलमा १७ अंकको अन्तरबाट कम ब्याक गर्दै जित हात पारेको हो ।
अमेरिकी पौडीबाज केटी लेडेकी, जिम्न्यास्ट सिमोन वाइल्स, पौडीबाज केलेब ड्रेसेलका लागि यो अन्तिम ओलम्पिक पनि हुन सक्छ । लेडेकी र बाइल्सले व्यक्तिगत स्पर्धामा सफलता पाए पनि ड्रेसेलले भने पाएनन् ।
यस ओलम्पिकमा केही अस्वाभाविक घटना भए । सेन नदीको खराब पानीको कारण ट्रायथलनको स्पर्धा निर्धारितभन्दा पछि भएको थियो । यसले म्याराथन पौडी र मोर्डन पेन्टाथनलाई पनि असर गर्ने आशंका भए पनि त्यसो हुन पाएन ।
पहिलो ‘पोस्ट पेन्डामिक ओलम्पिक’को रूपमा रहेको यो ओलम्पिकमा ४० भन्दा बढी खेलाडी कोभिड संक्रमणबाट संक्रमित भए । यसभन्दा अघि सन् २०२१ मा भएको टोकियो ओलम्पिक तथा अर्को वर्ष चीनमा भएको शीतकालीन ओलम्पिकमा कोभिडबाट बच्न सुरक्षाका लागि कडा मापदण्ड अपनाइएको थियो ।
त्यसो त सेन नदीमा उ्दघाटन भएर प्रतियोगिता अघि बढेको थियो । ओलम्पिक इतिहासका लागि त्यो नै अनुपम थियो । एक शताब्दीअघि सन् १९२४ मा ओलम्पिकको आयोजना भएको पेरिसमा एक शताब्दीपछि पनि ओलम्पिक महोत्सवको आयोजना हुनु अर्को संयोग थियो ।
ओलम्पिकका २ खेलमा चीनले क्लिनस्विप गरेको थियो । डाइभिङमा रहेका ८ वटै स्वर्ण पदक चीनले जितेको हो । यसैगरी, टेबल टेनिसमा पनि चीनले क्लिनस्विप गरेको हो । चीनको यो सफलतामा सुटिङ र भारोत्तोलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अमेरिकाको हकमा एथलेटिक्सको सफलता प्रमुख थियो । एथलेटिक्समा अमेरिकाले १४ स्वर्ण पदक जितेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar