काठमाडौं – भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणको लागि आज आइतबार काठमाडौँ आइपुगेका छन् ।
नेपालको परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री आज नेपाल आएका हुन् । उनलाई परराष्ट्र सचिव लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी थिइन् । विदेश सचिव भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो भने नेपालमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि पनि भारतबाट पहिलो भ्रमण हो ।
नेपाल – भारत सम्बन्धलाई थप बलियो बनाउने र संयुक्त लाभ हुने विषयमा सहकार्य गर्दै अघि बढ्ने विभिन्न पक्षहरुमा कुराकानी गर्ने परराष्ट्र मन्त्रायले जनाएको छ । साथै, भारतीय विदेश सचिवले उच्चस्तरीय भेटवार्ता गर्ने पनि बताइएको छ । उनले नेपालमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने परराष्ट्र सचिव लम्सालसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार विदेश सचिव मिस्रीको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान – प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने उल्लेख छ ।
‘भारत र नेपालबीच सदियौँ पुरानो सभ्यतागत , सांस्कृतिक र जनता – जनताबीचको सम्बन्ध रहेको छ, र भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न भई र नयाँ परियोजनाहरू अघि बढाइ उच्चस्तरीय आदानप्रदानलाई गति दिँदै पछिल्लो वर्षहरूमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ ।’
भारतीय विदेश सचिव मिश्री सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । उनले यसअघि भुटानको भ्रमण गरिसकेका छन् । विदेश सचिवमा बढुवा हुनुअघि मिस्री भारतको उप – राष्ट्रिय सुरक्षा सल्लाहकार थिए ।
५९ वर्षीय मिस्रीले भारतका प्रधानमन्त्रीहरू इन्द्रकुमार गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीको निजी सचिवको रुपमा काम गरेको अनुभव छ । उनले सन् २०१९ – २०२१ सम्म चीनका लागि भारतको राजदूतका रूपमा पनि काम गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar