काठमाडौँ – कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुनेर कुट्ने धम्की दिएको आरोप लागेको छ ।
पूर्वमुख्यमन्त्री कार्कीले फोन गरी टेलिफोनबाट शौचालयमा थुनेर कुट्ने धम्की दिएको भन्दै प्रदेश सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन नै दिएका छन् । उनले जिउधनको रक्षा र शान्ति सुरक्षाको माग गर्दै दोषीमाथि कारबाही गर्न आग्रह गरी निवेदन दिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पुष्टि गरेका छन् ।
कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने धम्की दिएको सचिव भट्टराईको आरोप छ । भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोसी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएका छन् ।
सोमबार ४ बजेर ५३ मिनेटको समयमा फोन गरेर आफूलाई धम्की दिएको उनले दिएको उजुरीमा उल्लेख छ । भुक्तानीको विषयलाई लिएर फोनमार्फत् पूर्वमुख्यमन्त्री कार्कीले ‘कुट्छु, शौचालयमा थुन्छु’ लगायतका धम्की दिएको उनको आरोप छ । सचिव भट्टराईलाई पूर्वमुख्यमन्त्री कार्कीले विभिन्न गोल्डकपहरूलाई रकम निकासा गर्न दबाब दिए पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले भुक्तानी सहमति नदिएको बताइएको छ । त्यही जानकारी कार्कीलाई गराउँदा कार्कीले कुट्ने धम्की दिएका हुन् ।
यता, पूर्वमुख्यमन्त्री कार्कीको सचिवालयले भने सचिवले लगाएको आरोपको खण्डन गरेको छ । कार्कीका स्वकीय सचिव दिवस राजवंशीले विज्ञप्ति जारी गर्दै सचिव भट्टराईलाई धम्की दिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । राजवंशीले उल्टै सचिव भट्टराईले कमिसन मागेको आरोप लगाएका छन् ।
‘सचिव भट्टराईले खेलकुद क्षेत्रका लागि रकमान्तर भएर आएको १ करोड ६६ लाख रकमबाट मुख्यमन्त्रीको नाममा समेत सेवाग्राहीबाट कमिसन मागेका थिए । तर, कमिसन रकम हात नपरेपछि सचिव भट्टराईले मन्त्रिपरिषद्मा प्रस्ताव लग्न छाडेर काठमाडौँ गएको र लामो समय बिदामा बसेको अहिले खेलकुद गतिविधिमा संलग्नहरूले गुनासो गरिरहनुभएको अवगत गराउन चाहन्छु,’ स्वकीय सचिव राजवंशीले भनेका छन्, ‘सोही समयमा पूर्वमुख्यमन्त्री कार्की सरकारबाट हट्नुभयो । तर, विराट गोल्डकप, क्रिकेट आयोजक समितिलगायतलाई सचिव भट्टराईले पूर्वमुख्यमन्त्रीज्यूले माग्नुभएको कमिसन रकम नदिनुभएकाले बजेट निकासा नभएको भन्दै बदनाम गराउने मनसायले अनर्गल कुप्रचार गराइरहेको सूचना प्राप्त भएपछि पूर्वमुख्यमन्त्री कार्कीज्यूले २०८१ साउन ७ गते सोमबार सचिव भट्टराईलाई फोन गरेर सचेत गराएको स्पष्ट पार्न चाहन्छु ।’
राजवंशीले इमान्दारितापूर्वक कर्तव्यनिष्ठ भएर काम गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई हतोत्साहित हुने गरी सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । ‘सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको हकहितका लागि र निर्भयपूर्वक काम गर्ने वातावरण बनाइराख्न प्रतिबद्ध रहेको सबैमा जानकारीका लागि अनुरोध छ,’ राजवंशीले भनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar