काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ७ बुँदे सुझाव दिएको छ । बुधबार महासंघले प्रेस विज्ञप्तिमार्फत नेपाल मौद्रिक नीतिका सम्बन्धमा ७ बुँदे सुझाव दिएको जानकारी दिएको हो ।
महासंघले मुलुकभरिका हजारौँ गहना व्यवसायीहरूको मुख्य कच्चा पदार्थको रूपमा रहेको सुन, चाँदी आदि बहुमूल्य वस्तुको आपूर्तिलाई कसरी सहज, पारदर्शी, वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने कार्य सधैँ नै एउटा नितान्त पेचिलो विषय बन्दै आएको बताएको छ । यस विषयलाई महासंघले अत्यन्तै गहनतापूर्वक लिई सो बारे राज्यका सरोकारवाला निकायमा सुझाव प्रस्तुत गर्दै आएको महासंघको भनाइ छ । तसर्थ यस विषयलाई आगामी मौद्रिक नीतिमार्फत सम्बोधन हुन नेपाल राष्ट्र बैंकलाई महासंघको अनुरोध छ ।
राज्यले दिएको सुविधा सबै संघसंस्थाहरूले समान रूपमा उपभोग गर्न पाउनुपर्ने भन्दै महासंघले सुन वितरणमा एकद्वार प्रणाली लागू गर्दा सबैभन्दा पारदर्शी, व्यावहारिक र वैज्ञानिक हुने भन्दै यस्तो माग गरेको हो ।
त्यस्तै, महासंघले गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन खरिद गर्न सक्ने प्रावधान मौद्रिक नीतिमार्फत ल्याउन आग्रह गरेको छ । त्यस्तै, महासंघले वाणिज्य बैंकहरूले प्रदान गर्ने पुनर्कजा आदिमा आभूषण व्यवसायलाई पनि समावेश गर्नुपर्ने माग गरेको छ । गहना व्यवसायीले वाणिज्य बैंकबाट सुन खरिद गर्न प्रत्येक बैंकमा खाता खोल्नुपर्ने र यो व्यवसायलाई नै उच्च जोखिममा राखिएकोले खाता खोल्न झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भएकोले उक्त प्रावधानलाई सरलीकरण गर्न महासंघले माग गरेको छ ।
१६औँ दिनपछिको सुन पनि गहना उत्पादनकर्ता व्यवसायीले मात्रै खरिद गर्न पाउनुपर्ने भन्दै महासंघले त्यस्तो सुन बिक्री गर्दा नेपाल राष्ट्र बैंकले तोकेबमोजिम दैनिक बिक्रीको सीमा उल्लंघन गर्न नपाउने र ककसले सुन खरिद गरेको हो, सोको पूर्ण विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएको छ । मौद्रिक नीतिमार्फत सुनको मूल्य निर्धारणका लागि कानुनी व्यवस्था गर्न महासंघले सुझाव दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar