नेपालको सबैभन्दा ठुलो तथा कर्णाली प्रदेशकै गहना, राराताल मुगु जिल्लामा पर्छ । यस जिल्लामा १ नगरपालिकासहित ४ स्थानीय तह छन् । त्यसमध्येको एक हो छायानाथ रारा नगरपालिका । नेपालको सबैभन्दा ठूलो राराताल पनि यसै नगरपालिकाभित्र पर्दछ । छायानाथ मन्दिर र रारातालकै नामबाट यस नगरपालिकाको नाम छायानाथ रारा नगरपालिका नामकरण गरिएको हो । यहाँ ऋणमोक्ष मन्दिर, छायानाथ मन्दिर, कालिका मालिका मन्दिर, थार्प मस्टा, चंखेली हिमाललगायत पर्यटकीय सम्भावना बोकेका कैयौँ सम्पदा छन् । मुगुमा मुख्यतया क्षत्री, ब्राह्मण, ठकुरी, लामा तथा दलित समुदायको बाहुल्यता रहे पनि छायानाथ रारा नगरपालिकामा क्षत्रीको जनसंख्या धेरै छ । २०७८ सालको जनगणनाअनुसार यस नगरपालिकाको कुल जनसंख्या २६ हजार र कुल घरधुरी संख्या ४ हजार ७२१ छ । छायानाथ रारा नगरपालिकामा जडीबुटी व्यापार, पर्यटन, कृषि र पशुपालनको उच्च सम्भावना छ । भौगोलिक विकटता र भिरालो जमिनले भएकाले यहाँ बसोबास गर्नेको जीविकोपार्जनको मुख्य स्रोत, कृषि जडीबुटी, व्यापार तथा पशुपालन नै हो ।
मुगुको छायानाथ रारा नगरपालिका सडक सञ्जालसँग जोडिएसँगै यहाँ भएका विकास निर्माणका कामहरू कसरी सञ्चालन भइरहेका छन् । ३३ केभी विद्युत् लाइन कर्णाली करिडोर हुँदै मुगुमा समेत पुगेको छ । दुर्गम जिल्ला मुगुभित्र त्यो पनि सदरमुकामको पालिकाले के काम गरिरहेको छ त ? ।
यसअवधिमा यस नगरपालिकामा के कस्ता कामले प्राथमिकता पाए र बाँकी कार्यकालमा नगरपालिकाले कार्य सम्पादनलाई कसरी अगाडि बढाएको छ यही विषयमा केन्द्रित रहेर छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामसँग नन्दबहादुर रोकायाले गरेको कुराकानीको सम्पादित अंश ।
करिव २ वर्ष भयो तपाईंले गरेका मुख्य मुख्य काम के के छन् ?
म निर्वाचित भएको अब २ वर्ष पुग्दै छ । २ वटा बेलिब्रिज, २ वटा मोटरेबल पुल, ४४ वटा सामुदायिक विद्यालयमा १५ वटा नयाँ विद्यालयका भवन निर्माण भएका छन् । त्यस्तै चालु आर्थिक वर्षमा १० वटा विद्यालय निर्माण हुने क्रममा रहेका छन् । विमानस्थल रहेका ताल्चा, १३ नम्बरको लुमा, १४ को बामको सुम्ली पनि स्वास्थ्य संस्था निर्माण भएर सेवा प्रवाहको काम भएको छ । २ वटा नगरबस सञ्चालनमा ल्याएका छौँ भने अब यो अबमा थप २ वटा बस थप्ने योजनामा रहेका छौँ । पालिकामा अधिकांश दलित समुदायको वर्चश्व भएकाले दलितसम्बन्धी नीति निर्माण गरिएको छ ।
अन्तरजातिय बिहे गर्ने जोडीलाई १ लाख दिने निर्णय गरेर सो कामको सुरुआतसमेत भएको छ । नगरपालिकाभित्र १ हजार २७६ घरधुरी दलित समुदायको रहेका छन् । पुस्तौँदेखि बस्दै आएका दलित समुदायले सांस्कृतिक रूपमा गर्दै आएको कामलाई अझैँ प्रभावकारी बनाउका लागि नगरपालिकाले सहयोग गर्ने नीति लिएको छ । बाजागाजा, विभिन्न प्रकारका नाचहरूलाई संरक्षण गर्नका निमित्त दलितसँग नगरप्रमुख कार्यक्रम कोषमार्फत प्रतिघर २ हजार ५०० भत्ता दिने निर्णय गरेर कार्यान्वयनमा आएको छ । त्यस्तै नगरप्रमुखसँग बालबालिका कार्यक्रममा सञ्चालन गरेर यस नगरपालिकाभित्र रहेका ४४ वटा बिद्यालयका अति विपन्न तथा समस्यामा परेका ७०० बालबालिकालाई ( कक्षा १ देखि १०) शैक्षिक सामग्रीदेखि पढाइलाई सघाउ पुग्ने खालको काम कार्यान्वयनमा आएको छ । नगरपालिकाले सुइयोदेखि सुनसम्मका कामहरू गर्नुपरेको छ । समस्याका भारी हामीसँग भए पनि हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गरेर काम गरिरहेका छौँ ।
त्यस्तै नगरप्रमुखसँग ज्येष्ठ नागरिक कार्यक्रम सञ्चालन गरेर नगरपालिकाभित्र वृद्धवृद्धाहरूलाई न्यानो कपडा ब्ल्यांकेट वितरणलगायत ज्येष्ठ नागरिहरूलाई चस्मा, हाते आधुनिक लठ्ठी वितरण कार्यक्रम कार्यान्वयनमा आएको छ । नगरप्रमुखसँग गोेठालो खर्कालो कार्यक्रम सञ्चालनमा रहेको छ । पशुपालन गर्ने स्थानीयबासीलाई (गोठाला, खर्काला) त्रिपाल, सोलार, अन्य सामान दिने काम भएको छ । कृषिमा आत्मनिर्भर बनाउनका लागि बिउ वितरणको काम हुँदै आएको छ । नगरप्रमुखसँग ज्येष्ठ नागरिक, नगरप्रमुखसँग रोजगार कार्यक्रम ल्याएर कामहरू गरिरहेका छौँ । हाम्रा कार्यक्रम वितरणमुखी नभएर रोजगारमुखी बनाउनका लागि व्यापक योजनाका साथ लागेका छौँ । यस्ता खालका कामहरू गर्नका लागि ३० वटा क्याटागोरी बनाएर सोहीअनुसार काम भइरहेको छ । १ वर्षमा १ हजार जनालाई रोजगारी दिने योजना तय गरेर काम गरिरहेका छौँ । साथै निरन्तर रूपमा शुक्रबार सरसफाइ अभियान, शनिबार श्रमदान अभियान लगायतका अभियान सञ्चालन गरेका छाँै । साना योजनाहरू श्रमदानबाट निर्माण गर्ने गरेका छाैँ ।
नगरपालिकाभित्र सडक सञ्जाल सबै गाउँमा पुगेका छन् त ?
यो सदरमुकामको पालिकासमेत रहेका कारण कर्णाली राजमार्ग यसैमा जोडिएको छ । हाम्रो नगरपालिकाको मुटु भएर कर्णाली राजमार्गको अधिकांश सडक निर्माण भएको छ । हवाइ सेवासमेत हाम्रो पालिकाको ताल्चामा रहेको छ । सदरमुकाम भएकाले सबैको ध्यान यहाँ पुग्नु स्वभाविक पनि छ । पालिकाभित्र १४ वटा वडामा ८७ वटा बस्ती रहेका छन् ।
छायानाथ रारा नगरपालिका–९ को मुर्म, १४ को सुम्लीमा सडक पुगेको छैन । अन्य सबै ठाउँमा सडक पुगेको छ । सडक पुगेको ठाउँमा ग्राबेल तथा कच्ची सडक निर्माण कार्य भइरहेको छ । सडकको पहुँच पुगेकै कारण हामीले २ वटा नगरबस चलाएर यहाँका स्थानीयबासीलाई यातायातमा सहजता ल्याउने काम भएको छ । अहिले यहाँ खासगरी ४ वटा रुट रहेको छ । थप रुटका लागि यो आवमा २ वटा नगरबस थप्न लागेका छौँ । अहिले गमगढी–ताल्च हुँदै सल्लेरीसम्म १ वटा नगर बस सञ्चालनमा आएको छ भने गमगढी–रुगा–लुमहुँदै बामसम्म अर्को बसले सेवा दिइएको छ ।
सदरमुकामभित्रको पालिकामा स्वास्थ्य क्षेत्रमा अवस्था के छ ?
प्रदेश सरकारको मातहतमा रहेको एक स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल रहेको छ । हाम्रो नगरपालिकाभित्र २९ वटा स्वास्थ्य संस्थाहरू रहेका छन् । १० वटा प्रसूति गृह रहेका छन् । नगरपालिकाले बोलपत्रमार्फत औषधि खरिद गरेर भारी मात्रामा ठाउँठाउँमा औषधि व्यवस्थापन गरिरहेका छ । तर, जिल्ला अस्पतालमा डाक्टर नहुने समस्या विद्यमान रहेको छ । प्रदेश सरकारले दक्ष चिकित्सकको व्यवस्थापन नगर्दा भरपर्दो उपचार पाउने अवस्था अझैँ भइसकेको छैन । हामीले नगरपालिकाबाट जति काम गरेका छौँ, त्यो कामले पक्कै पनि नगरबासीमा राहत नै पुगेको होला भन्ने अपेक्षा छ । स्वास्थ्यकर्मीहरूसमेत नगरपालिकाभित्र व्यवस्थापनको पाटो राम्रो नै छ । विशेष गरी नगरवासीको स्वास्थ्य स्थितिमा सुधार ल्याउन २०८१ वैशाखको पहिलो हप्तादेखि एमडिजिपी चिकित्सकको व्यवस्थापनसँगै १० शय््याको नगर अस्पतालको स्थापना गर्ने लक्ष्यमा छौँ । यसले गर्दा नगरबासीहरूलाई उपचारमा सहज हुने अपेक्षामा छाँै ।
सन् २०३० मा नागरिकलाई सुरक्षित खानेपानी पुर्याउने भनिएको छ यस नगरपालिकामा के छ ?
नेपाल सरकाको लक्ष्य २०३० सम्ममा सुरक्षित खानेपानी घरघरमा पुर्याउने लक्ष्यका साथ छायानाथ रारा नगरपालिकाले विभिन्न सहयोगी संस्थाहरूको समन्वयमा १ घर १ धारा निर्माणको अभियान थालनी गरेको छ । छायानाथ रारा नगरपालिकाले नगरपालिका, युयसआइडी कर्णाली जल परियोजनाकोे आर्थिक सहयोगमा र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिस्डेकको प्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिकाले नगरभित्रका ८७ बस्तीमा २ वर्षदेखि १ घर १ धारा निर्माण प्रतिवर्ष १५ देखि २० बस्ती समेटिने गरी घरघरमा धारा निर्माण कार्य गरिरहेको छ ।
सन् २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा ल्याउने संकल्प गरेको छ । सोही संकल्पलाई सार्थकता तुल्याउन मुगुको छायानाथ रारा नगरपालिकाले २ वर्षदेखि विभिन्न संघसंस्थासँग समन्वय गरी १ घर १ धारा निर्माण अभियान थालेको र त्यसै अनुरूप छायानाथ रारा नगरपालिका ८७ बस्तीमा मेरो कार्यकालमा सबै वडा सबै गाउँमा घरमा १ घर १ धारा निर्माण गरिसक्नेछु । यो वर्ष मात्र चुगाँगाउँ खानेपानी निर्माण भएर सम्पन्न भएको छ । दोबाट खानेपानी, कार्कीवाडा गाउँ खानेपानी, ठिनी खानेपानी, ईमा गाउँ खानेपानी लगायतका ७ गाउँमा १ घर १ धारा निमार्णको काम जारी रहेको छ ।
छायानाथ रारा नगरपालिकाका ८७ बस्तीहरूमा के सबै गाउँमा विद्युत् पुगेको छ त ?
जिल्लाका ४ पालिका मध्ये हाम्रो पालिकामा मात्र केन्द्रीय प्रसारण लाइन पुगेको छ । ३३ केभी प्रशारण लाइन पुगेको हाम्रो पालिकामा अहिले अधिकांश ठाउँमा विद्युतीकरणको काम भएका छन् । म पालिकाभित्र सोलार बत्ती बन्द गरेर सबै घरमा विद्युत पुर्याउने योजनामा रहेको छु ।
३३ केभी प्रसारण लाइन कोहलपुरदेखि मुगु पुगेको छ । बाटोमा बिग्रेमा यहाँ विद्युत् अवरुद्ध हुने समस्या रहेको छ । सदरमुकाममा केन्द्रीय लाइन बलिरहेको छ । केन्द्रीय लाइन बन्द भएको खण्डमा गमगाढ विद्युत् आयोजना सञ्चालन गरेर पनि विद्युत् दिने काम भइरहेको छ । ठाउँठाउँमा ठुला सब स्टेसन निर्माण भएमा केन्द्रीय प्रसारण राम्रो हुनेछ भन्ने लाग्छ । सदरमुकामदेखि बाहिरको पालिकामा अझैँ केन्द्रीय लाइन पुगेको छैन । जिल्लाका ४ पालिकाका प्रमुखसँग प्रदेश र संघ सरकारका प्रतिनिधिसँग छलफल भएको थियो ।
बाहिरका पालिकाका प्रमुखज्यूहरूले सोलार माग गर्नुभएको थियो तर मैले सबै ठाउँमा विद्युत् नै चाहिन्छ भन्दै आफ्नो माग राखेको छु । अहिले पनि छायानाथ रारा नगरपालिकाको अधिकांश बस्तीमा विद्युतीकरणको व्यवस्थापन भइसकेको छ । विद्युत् नपुगेको छायानाथ रारा नगरपालिका–१०, ११, १२ वडामा विशेष गरी विद्युतीकरणका लागि लाइन खिच्ने काम भइरहेको छ । छायानाथ रारा नगरपालिका–१४ मा वैशाख महिनाबाट बत्ती बल्न सुरु भएको छ भने वडा–९ मा राष्ट्रिय निकुञ्जको बाधाका कारण बत्ती पुर्याउन समस्या भएको छ । नगरपालिकाको मिनी हाइड्रो पावरबाट वडा–९ मा बत्ती बले पनि विपत्ले क्षतविक्षत गर्दा समस्या भएको हो अबको केहीदिनमा पुनः मर्मत गरी विद्युत् सुचारु गरिनेछ ।
नागरिकताका आधारमा प्रतिव्यक्तिले ५ पोका नुन पाउने दुःख कहिले अन्त्य होला ?
नगरबासीका लागि नुनको समस्या छैन । बाहिरका पालिकाका साथीहरूले दुःख पाएको अवस्था छ । हाम्रो टाढा रहेका वडाका स्थानीयबासीले नुनका लागि दुःख पाएको भए पनि हामीले त्यसको समाधान गर्न वडा तहबाट पालिकाले रकम तिरिदिने गरी कार्डमार्फत प्रतिमहिना ५ पोका नुन दिने योजना बनाएका छौँ । पालिकाभित्र ५ हजार घर मध्ये ४ हजार घरघुरीलाई प्रतिमहिना ५ पोकाका दरले घरघरमा नुन नगरपालिकाले नै किनेर दिने योजनामा कार्यान्वयनको अन्तिम चरणमा पुगेको अवस्था छ । यो काम कार्डका आधारमा हुनेछ ।
खाद्य जोखिमको अवस्थालाई सुधार गर्नका लागि के छ योजना ?
बाँझो जग्गा राख्नेलाई कारबाही गर्ने नीति नगरपालिकाले लिएको छ । हामीले सोचलाई गरिब बनाएको अवस्था छ । खेती नगर्नेलाई कारबाही गर्ने नीति कडाइका साथ लिएमा मात्र कृषि क्षेत्रमा सबैको ध्यान जाने देखिन्छ । स्थानीय रैथानीबाली प्रर्याप्त रूपमा पाइने गरेको छ । पहिलेभन्दा अहिले कृषि क्षेत्रमा यहाँका स्थानीयबासीहरू लागेको पाइएको छ । कृषकले उत्पादन गरेको खाद्यान्न तथा अन्य मासुजन्य बस्तुलाई बजारीकरण गर्नका लागि हाटबजारको व्यवस्था गरिएको छ । त्यस्तै बधशाला सञ्चालनमा गर्नका लागि नगरपालिकाले पहलकदमी लिएको छ । सबै कुरालाई व्यवस्थित बनाएर नगरपालिकालाई समृद्धिको गति हामी अगाडि बढाउँछौँ । यो हाम्रो चुनावी प्रतिबद्धता पनि हो । त्यस्तै स्थानीय रूपमा उत्पादन भएका सिमी लगायतका अन्य दालजन्य बस्तुहरू बाहिर जिल्लामा पुर्याउने अभियानमा छौँ । यो कामका लागि सबै तहका सरकारका नीति तथा कार्यक्रमहरू मिलाएर लिएमा काम गर्नसमेत सहज हुनेछ ।
संघ र प्रदेशमा पालिकाले सिफारिस गरेका योजना आउँछन् कि आउँदैनन् ?
हामीले बस्तीस्तरदेखि वडा हुँदै पालिकामार्फत छनोट गरेर पठाएका योजनाहरू माथिबाट पठाउने काम हँुदैनन् । माननीयज्यूहरूले आफू अनुकूलका ठाउँमा योजना पठाउँदा यहाँ समस्या भएको छ । समस्या एकातिर हुन्छ, योजना अर्कैतिर आउँछ ? त्यसैले गर्दा केही समस्याहरू आएका छन् । योजना पठाउँदा समन्वय, सहकार्य लगायतका कामहरू नहुँदा काम गर्न अलि समस्या हुँदै आएको छ । सबैको उद्देश्य भनेको जिल्ला बनाउने नै हो, त्यसकारण हामीले सहकार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने लाग्छ ।
नगरपालिकाको १ मुख १० रुख अभियान भन्ने छ यसको उद्देश्य खास के हो ?
छायानाथ रारा नगरपालिका आफैँमा एक भौगोलिक विकटता भएको नगरपालिका हो । यहाँ भिरालो जमिन छ । बाढीपहिरोको पनि उत्तिकै जोखिम नगरपालिका भएका कारण १ मुख १० रुखको अभियान सञ्चालन गरेर बाढीपहिरो रोगथाम र नगरपालिकालाई हरित गृह नगरपालिका निर्माण गर्न सघाउ पुर्याउन यो अवधारण सञ्चालन गरिएको हो । १ मुख १० रुख अभियानअन्तर्गत १ जना नगरबासीले १० वटा बिरुवा अनिवार्य लगाउनुपर्ने छ । आआफ्नो पायक पर्ने स्थान जहाँ भए पनि १ जना व्यक्तिले १० वटा जुनसुकै जातका बिरुवा रोप्नु पर्नेछ । यसले गर्दा वातावरणीय प्रभावमा राम्रो हुनुका साथै जलवायु परिर्वतनको असर न्यूनीकरणमा सहयोग पुग्ने र हरित गृह नगरपालिकाको परिकल्पना साकार हुने उदेश्यका साथ छायानाथ रारा नगरपालिकाको १ मुख १० रुखको अभियान सञ्चालन गरी कार्यान्वयनमा ल्याएको छ ।
रारामा पर्यटकहरू आकर्षित गर्न के के योजना बनाउनुभएको छ ?
पर्यटकीय सम्भावनाहरूले भरिपूर्ण यस नगरपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा चिनाउन नगरपालिकाले होमस्टे प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको छ । रारा आसपास क्षेत्रमा व्यवस्थित होटल तथा लजको नभएकोले पिना बालै गमगढी सडक सुचारु गरी ‘एक रात गमगढी बास’ भन्ने कार्यक्रम सञ्चालन गरी पर्यटकलाई गमगढी बजारमा बस्ने वातावरणको सिर्जना गरिने योजना बनाएका छौँ । साथै पर्यटकलाई मनोरञ्जन प्रदानका लागि स्थानीय कला, संस्कृति, भेषभूषा तथा रहनसहनलाई नजिकबाट चिनाउनका लागि पनि होमस्टे प्रवद्र्धन कार्यक्रम अगाडि सारिएको छ । साथै रारामा नगरपालिकाले पर्यटन शुल्क उठाउने र त्यही रकमबाट विकास गर्ने योजनाका साथ राराको सल्लेरीमा सवारी पार्किङ शुल्क उठाउनका लागि कार्यविधि जारी भएकाले कार्यविधिअनुसार शुल्क उठाई त्यसै अनुरूप राराको विकास गर्ने योजना बनाएका छौँ ।
यो २ वर्षमा के कस्ता चुनौती भोग्नुभयो ?
मुगु जिल्ला भौगोलिक हिसाबले ठगिएको जिल्ला हो । भौगोलिक विकटता मुख्य चुनौती रहेको छ । भौगोलिक विकटताले धेरै समस्या गरेको छ । सीमित साधन स्रोत र आन्तरिक स्रोत कमी हुनु पनि समस्या छ । त्यसमा बढ्दो बेरोजगारी, अशिक्षा, यातायातको असुविधा, आयस्रोतको कमी लगायतका धेरै चुनौती छन् । राजनीतिक खिचातानीले पनि विकासमा बाधा पुर्याएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar