न्युयोर्क – विश्वमा फेरि राजनीतिक ध्रुवीकरण भइरहेको समयमा अमेरिकाले युक्रेनमा थप सहयोगको नीति लिएको छ । पछिल्लो समय युक्रेनमाथि रुस हाबी भइरहेको समयमा ९ र १० जुलाईमा वासिङ्टन डिसीमा हुने उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सम्मेलन विशेष रहने जनाइएको छ । सोही सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्य देशसँग युक्रेनलाई राजनीतिक, सैन्य र आर्थिक सहयोगको प्रस्ताव राख्ने जनाइएको छ ।
मार्चमा प्रक्रिया सुरु भएको स्विडेनको आबद्धतालाई मूर्त रूप दिने काम पनि सोही सम्मेलनमा हुनेछ । ७५औँ वर्षगाँठ मनाइरहेको सो संगठनमा अहिले ३२ राष्ट्र सदस्य छन् । युरोप र एटलान्टिक क्षेत्रको सुरक्षाका लागि अहिले पनि संगठन संवेदनशील रहेको जनाइएको छ । नेटो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको विषयमा पनि छलफल हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेटो सम्मेलनअगावै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरे पनि यसले एटलान्टिक प्रशान्त क्षेत्रमा जारी सहकार्यमा कुनै असर नगर्ने विश्वास अमेरिकी प्रशासनले राखेको छ । नेटोको स्थापना ४ अप्रिल, १९४९ मा भएको हो । सन् १९९९ मा यसको ५०औँ वर्षगाँठको उद्घाटन तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले गरेका थिए ।
सो सम्मेलनलगत्तै ११ जुलाईका दिन नाटोका अधिकारीहरूले युरोपेली युनियन र एसिया प्यासिफिक क्षेत्रका साझेदारहरूसँग वार्ता गर्नेछन् । अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र न्युजियान्डका अधिकारीसँग नेटोका अधिकारीहरूले भेट गर्नेछन् । युक्रेनलाई पूर्ण सदस्यताको विषयमा पनि छलफल हुनेछ । युक्रेनले पूर्ण सदस्यता पाउने अनुमान गरिएको छ ।
सम्मेलनमा ३५ देशका विदेशमन्त्रीलाई पनि बोलाइएको छ । इजरायल, इजिप्ट जोर्डन, कतार र संयुक्त अरब इमिरेट्सलाई पनि आमन्त्रण गरिएको छ । यो आमन्त्रणले अरबमा पश्चिमा प्रभाव बढ्ने अनुमान गरिएको छ । यसअघि इरान पश्चिमा गठबन्धनको विरुद्धमा थियो । जापानको टोकियोलगायत एसिया प्यासिफिक देशमा सम्पर्क कार्यालय स्थापन गर्ने नीति पनि नेटोको छ ।
अहिले बाइडेन आफैँ घरेलु समस्यामा छन् । १९ अगस्टमा डेमोक््रयाट सम्मेलन हुँदैछ । बाइडेनले अर्को कार्यकालका लागि निर्वाचनमा उम्मेदवारी यथावत राख्ने या नराख्ने भन्ने बहस पनि चलिरहेको छ । उनका सहयोगी ५ जना विधायकले बाइडेन पछि हट्दै कमला ह्यारिसलाई अघि बढाउन सल्लाह दिएका छन् । धेरै जना डेमोक््रयाट विधायकहरू बाइडेनकै पक्षमा यथावत् छन् ।बाइडेनले यसबीचमा धेरै आरोह–अवरोहको सामना गरेका छन् । मूल रूपमा मेक्सिको सीमाबाट प्रवेश गर्ने अवैध आप्रवासीलाई नियन्त्रण गर्न नसकेको आरोप उनीमाथि रिपब्लिकनहरूले लगाइरहेका छन् । साथै उमेरका कारण पनि उनी अर्को कार्यकालका लागि योग्य नभएको चुनावी मुद्दा रिपब्लिकहरूले उठाइरहेका छन् । इयोआ र हाप्पसायरका डेमोक््रयाट नेताहरू बाइडेनको विरुद्धमा रहे पनि साउथ क्यारोलिनाको मतले उनले अर्को कार्यकालका लागि उम्मेदवारीको अवसर पाएका हुन् ।
घरेलु संगठनका बीच पनि संसारलाई बलियो ध्रुवमा एकाकार गर्दै फेरि अमेरिकी प्रभाव संसारमा बलियो भएको पुष्टि गर्ने अभियानमा रहेका बाइडेनको सक्रियता अन्तर्राष्ट्रिय क्षेत्रमा बढेका कारण सम्मेलनलाई चासोपूर्वक हेरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar