रौतहट – रौतहटको वृन्दावन नगरपालिकाका नगरप्रमुखसहित १४ जना र विपक्षी १८ जनाविरुद्ध गरी ३२ जनालाई पक्राउ गर्न अदालतले जारी गरेको पक्राउ पुर्जीलाई प्रहरीले थन्क्याएर राखेर बुझिएको छ ।
गत जेठ २७ गते वृन्दावन नगरपालिकाले बागमती नदीको उत्खनन् गरिरहेको विषयमा २ पक्षबीच भएको झडपपछि १ जनाको गोठमा आगो लगाउने घटना भएको थियो । दिउँसो भएको झडपमा उत्खनन्मा प्रयोग गरिएको जेसिबीमा तोडफोड भएको थियो भने सोही साँझ १ जनाको गोठमा आगजनी भएको थियो ।
जेठ २७ गते साँझमा नगरप्रमुख विनोद राउत कुर्मीसहित गोठमा आगो लगाएको, पशु पनि जलेको र करिब ३० लाखको क्षति भएको भन्दै वडा–४ का अध्यक्ष श्याम राय यादवले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएका थिए ।
नगरप्रमुख कुर्मीसहित अन्यविरुद्ध जाहेरी दर्ता भएपछि इप्रकाले जेठ २ गते रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको थियो । पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि नगरप्रमुख कुर्मी पक्षले पनि असार ८ गते वडाध्यक्ष यादवसहित १८ जनामाथि इप्रका गरुडामा किटानी जाहेरी दिएका थिए । जाहेरी दर्तासँगै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले गोठमा आगजनीको घटनामा नगरप्रमुख कुर्मीसहित वृन्दावन नपा–६ का धर्मेन्द्र पटेल, हरिनारायण पटेल, बैजु पटेल, सुशील पटेल, बजरंगी पटेल, राम अशिष राउत, वडा–९ का सुरेन्द्र पटेल, शंकर पटेल, बच्चु पटेल, वडा–२ का सिकिन्द्र पटेल, छबिलाल पटेल, देवेन्द्र पटेल तथा वडा–१ का अजय पटेलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जानकारी गराएका छन् ।
यसै गरी जेसिबी तोडफोडको घटनामा अनुसन्धानका लागि अदालतबाट वडाध्यक्ष यादव, वडा–२ का वडाध्यक्ष सिकिन्द्र पटेल, नगर प्रत्यासी माओवादी नेता रामप्रसाद पटेलसहित १८ जनाविरुद्ध पनि अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको डिएसपी त्वातीको भनाइ छ ।
पहिलो पक्राउ पुर्जी जारी भएको २ हप्ता नाघिसकेको भए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । मेयरलाई पक्राउ गर्न पूर्वनगरप्रमुख राम सिनेही यादवसहितको टोलीले माग गर्दै इप्रका गरुडाविरुद्ध प्रदर्शन पनि गरिसकेका छन् । मेयर पक्राउ पुर्जी जारी सम्बन्धमा अनुसन्धान जारी रहेकोले अहिले बोल्न नमिल्ने डिएसपी त्वातीको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar