काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल पदबाट निलम्बित भएका छन् । सो पार्टीका महामन्त्री ढकाललाई पदबाट पार्टीले नै निम्बलन गरेको हो ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै ७ दिन निलम्बन गर्ने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
ढकालले बुधबार बसेको केन्द्रीय समितिको बैठकमा मुखमा टेप लगाएर विरोध जनाएका थिए । केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको उपसभापति अर्यालले बताए ।
ढकाललाई दिएको निलम्बन पत्रमा भनिएको छ, ‘केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
यसअघि महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै उनलाई स्पष्टीकरणसमेत सोधिएको थियो । महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाको अनुशासन समितिले उनलाई स्पष्टीकरण थमाएको हो ।
बुधबारको बैठकमा महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको समीक्षा प्रतिवेदनमाथि छलफल गर्दा केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए । तर, केन्द्रीय सदस्यहरुले लाइभ गर्न नहुनेमा जोड दिएका थिए । त्यसको विरोध गर्दै उनले भनेका थिए ‘बैठक लाइभ नगर्ने निर्णय गराएकाले आफ्नो लोकतान्त्रिक अधिकार,बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar