काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा २३ साउनदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो ।
यसअघि २ विषयमा मात्र ननग्रेडेड विद्यार्थीका लागि बोर्डले १८ र १९ साउनमा मौका परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको थियो । तर, मन्त्रालयले गत शुक्रबार २ भन्दा बढी विषयमा ननग्रेडेडलाई पनि परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षाको मिति सरेको हो ।
अहिले पास भएका र पूरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्न असोज पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ । बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी ननग्रेडेड भएका छन् ।
यसैबीच, एसइईको ग्रेड वृद्धि परीक्षामा सहभागी हुने सामुदायिक विद्यालयका विद्यार्थीलाई पढाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विद्यार्थीलाई परिचालन गरिने भएको छ । त्यसका लागि शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयलाई सहजीकरण गर्न पत्राचार गरेको छ ।
आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका स्नातक तथा स्नातकोत्तर तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई एसइईका ननग्रेडेड विद्यार्थीलाई पढाउन सहजीकरण गर्न अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।
सामुदायिक विद्यालयका अंग्रेजी, विज्ञान, गणितका विद्यार्थी र निजी विद्यालयका नेपाली तथा सामाजिक शिक्षा विषयमा कक्षा सञ्चालन गर्न सहयोग गर्न पत्राचार गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको साथी सिकाइ कार्यक्रमलाई विश्वविद्यालयमार्फत् सञ्चालन गर्न पनि मन्त्रालयले विश्वविद्यालयलाई पत्राचार गरेको छ । यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि ग्रेड वृद्धि परीक्षालाई लक्षित गरी रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत् गणित, अंग्रेजी र विज्ञान विषयका कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar