काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेताहरूले सहमतिमा दस्तावेज निर्माण भएजस्तो नेतृत्व पनि सहमतिमै चयन हुनुपर्नेमा जोड दिएका छन् । आज (आइतबार) राजधानीमा सुरु हुने पार्टीको १०औँ महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा नेताहरूले सो कुरा बताएका हुन् ।
प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले मिलेरै अघि बढून् भन्ने जनचाहना रहेको बताए । नेता नेपालले विगतमा गुटबन्दीले कम्युनिस्ट पार्टीले धक्का खाएकाले आफूहरूले एकताबद्ध भएर अगाडि जाने संकल्प गरेको उल्लेख गरे । उनले पार्टीलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनुपर्ने चुनौती रहेको पनि बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्नो पार्टीको महाधिवेशनले विश्वकै ध्यानाकर्षण गरेको उल्लेख गरे । नेता नेपालले भने, ‘विश्वका कम्युनिस्ट पार्टीहरूले हाम्रो महाधिवेशनबारे चासो राखेका छन् ।’ उनले कुनै पनि कम्युनिस्ट पार्टीले ल्याउन नसकेको समाजवादी कार्यक्रम आफ्नो पार्टीले महाधिवेशनको दस्तावेज बनाएको पनि दाबी गरे । नेपालले मौसमको प्रतिकूलतालाई पनि हेरेर धेरै तामझाम नगरी किफायती तरिकाले कम खर्चमा महाधिवेशन गर्न लागेको बताए ।
पार्टीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दस्तावेज सहमतिमै ल्याएकाले नेतृत्व पनि सर्वसम्मत निर्माण गरौँ भन्ने जनचाहना रहेको बताए । खनालले भने, ‘अन्तिममा केही नभए लोकतान्त्रिक बाटो हिँड्ने हो, त्यही विधिबाट समस्या समाधान गर्ने हो ।’ नेता खनालले पार्टीले पहिलो पटक समाजवादी कार्यक्रम ल्याएको बताउँदै महाधिवेशनले नयाँ ‘वैचारिक कम्प’ सिर्जना गर्ने पनि दाबी गरे ।
कार्यक्रममा पार्टी महासचिव घनश्याम भुसालले महाधिवेशनको तयारी लगभग पूरा भइसकेको जानकारी दिए । उनले महाधिवेशनमा १ हजार ८४७ प्रतिनिधि सहभागी हुने निश्चित भएको बताउँदै ५ प्रतिशत मनोनीत गर्ने व्यवस्था भए पनि अहिले मनोनीत नगरिएको जानकारी दिए ।
२९९ सदस्यीय केन्द्रीय कमिटी रहने पार्टीमा सम्मानीत २१ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ भने आयोगहरू ३५ सदस्यीय हुने उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा आइतबार ११ बजे भृकुटीमण्डपमा भेला भई जुलुससहित प्रज्ञा भवन कमलादी जाने र १२ः३० बजे उद्घाटन हुने महासचिव भुसालले जानकारी दिए ।
पार्टीले उम्मेदवार बन्न प्रारम्भिक योग्यता तोकेको पनि सो अवसरमा जानकारी गराइएको थियो । तोकिएको योग्यतामा एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यहरूले पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ भने अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ । यसैगरी उपाध्यक्ष, उपमहासचिव र सचिवका लागि पोलिटब्युरो सदस्य बन्न योग्यता पुगेको व्यक्तिले मात्रै आफ्नो मनोनयन दर्ता गर्न पाउनेछन् ।
त्यस्तै, पार्टीले गरेको व्यवस्थाअनुसार केन्द्रीय कमिटी, केन्द्रीय लेखा परीक्षण कमिटी, केन्द्रीय अनुशासन कमिटी र केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्न केन्द्रीय कमिटी वा केन्द्रीय निकायहरूको सदस्य भई काम गरेको वा संगठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई २ कार्यकाल काम गरेको व्यक्ति सदस्य बन्न योग्य हुने उल्लेख छ । सीमान्तकृत जनजाति, महिला, दलित, र अपांगता भएकाहरूको हकमा भने संगठित सदस्य भई ७ वर्ष काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा रही काम गरेको व्यक्ति उम्मेदवार बन्न योग्य हुने व्यवस्था छ ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संसद्मा रहेका सबै दलका शीर्ष नेताहरू र समाजवादी मोर्चाका शीर्ष नेतालाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । महाधिवेशनमा विदेशी प्रतिनिधिलाई आमन्त्रण नगरिएको भए पनि शुभकामनाका लागि भने पत्राचार गरिएको पनि पार्टीले जनाएको छ । महाधिवेशनको तयारीका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा मूल व्यवस्थापन समिति र कार्य विभाजनसहितका १२ वटा समिति गठन गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar