काठमाडौँ – नेपाल वायुसेवा निगमको वाइडबडी विमानको सम्पूर्ण मर्मत अनुमति (सी–चेक) प्राप्त भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको पहलमा निगमको वाइडबडी विमानले सी–चेक अनुमति पाएको हो ।
वाइडबडी कल साइन ९एनएनवाई जहाज अनुमतिबिनै सी–चेकमा पठाएको भन्दै प्राधिकरणले निगमका कार्यकारी निर्देशकसहितका अधिकारीलाई एकाउन्टेबल म्यानेजरका रूपमा काम गर्नसमेत रोक लगाएको थियो । जहाज प्राधिकरणको अनुमतिबिनै दुबई हुँदै इटाली पठाएपछि प्राधिकरण रुष्ट बनेको थियो ।
मन्त्री तामाङले क्यान र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई सिंहदरबारमा बोलाएर जहाज मर्मत प्रक्रियाबारे जानकारी लिएका थिए । उनले सी–चेक अविलम्ब गर्नसमेत निर्देशन दिएका छन् । क्यानको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले सी–चेकका लागि क्यानले निगमलाई अनुमति दिएको जानकारी दिए । वायुसेवा निगमले जुन २२ मा निगमको एक वाइडबडी विमान दुबई हुँदै मर्मतका लागि इटाली पठाएको थियो । सो जहाज ३० दिनभित्र मर्मत सकेर उडानमा ल्याउने भनिएको छ । इटालियन कम्पनी एटिटेक एसपिएलाई मर्मतको जिम्मेवारी दिइएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले वाइडबडी जहाजको सी–चेकका लागि क्यानले अनुमति दिएको पत्र निगमलाई प्राप्त भएको जानकारी दिए । दुइटा वाइडबडी विमानमध्ये ९एनएनवाई जहाज यही जुन २५ देखि सी–चेक नभएकाले उडान गर्न पाएको थिएन । यस विमानको मर्मत सम्पन्न भएपछि निगमको अर्को ए३३० जहाज ९एन–एएलजेडलाई पनि मर्मत गराउन सोही मर्मत कम्पनीमा जुलाई २०२४ को अन्तिम सातामा पठाउने तयारी गरिरहेको निगमले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar