काठमाडौँ – वर्तमान विश्व क्रिकेटका नयाँ सुपरस्टार रसिद खान । उनको नेतृत्वमा अफगानिस्तान विश्व क्रिकेटको महाशक्ति अस्ट्रेलियालाई बाहिर पठाउँदै टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । क्रिकेट मात्र होइन, विश्व खेलकुदका लागि मंगलबार दिन विशेष बन्यो । खान नेतृत्वको अफगानिस्तानले प्रतियोगिताको सुपर ८ को अन्तिम खेलमा बंगलादेशमाथि हात पारेको ८ रनको जित विशेष थियो । केही हदसम्म भाग्यको साथ पक्कै थियो । परन्तु अफगानको विश्वकप यात्राको कारण भाग्यभन्दा बढी अहोरात्रको मिहिनेत, परिश्रम, रणनीति, खानको कुशल नेतृत्व तथा विषम परस्थितिको बहादुरीपूर्वक सामना गर्ने चरित्र पनि हो । यसैको उपज थियो, घरि आकाशमा मडारिएको बादल त घरि स्कोरबोर्ड, दुवैलाई सही ढंगले नियाल्दै ऐतिहासिक यात्रा तय गर्न अफगानिस्तान सफल भयो ।
खान जन्मिएको ३ वर्षअघि १९९५ मा अफगानिस्तान क्रिकेट संघको स्थापना भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले अफगानिस्तानलाई सन् २००१ मा सदस्यता दिएको थियो । यो त्यही वर्ष थियो, जुन वर्ष अफगानहरूलाई कुनै क्षेत्रमा विकास गर्न होइन, ज्यान जोगाउन कठिन थियो । ११ सेम्टम्बरका दिन ओसामा बिन लादेनको योजनामा ट्विन टावरमा आक्रमण भएपछि अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको थियो । खान भने आफ्ना अभिभावकसँगै ज्यान जोगाउन पाकिस्तान गएका थिए ।
जब बिन लादेनको ज्यान गयो, त्यसपछि अमेरिकी नेतृत्वमा बहुराष्ट्रिय सेनाले अफगानिस्तानमा प्रभाव त जमायो । तर, पश्चिमा देशको सहयोग पनि कायम थियो । स्वतन्त्रता, आर्थिक विकास र खेलकुदमा फड्को एकै पटक सुरु भएको थियो । फलस्वरुप अफगानिसतानले सन् २००९ मा पहिलो पटक एक दिवसीय खेलको अवसर पाएको थियो । सन् २०१५ मा पहिलो पटक अफगानिस्तान एक दिवसीय विश्वकपमा सहभागी थियो ।
सन् २०१९ मा आइसिसी २०२० क्वालिफायरमा विजेता हुँदै अफगानिस्तान पहिलो पटक टी–२० विश्वकपमा प्रवेश गरेको हो । त्यसयताका हरेक टी–२० विश्वकपमा अफगानिस्तान सहभागी हुँदै आएको छ ।
जारी विश्वकपमा अफगानिस्तानको यो यात्रामा सहमन उल्लाह गुरबाजले सर्वाधिक २८१ रन प्रहार गरेका छन् । फजाल हक फारुक्युले सर्वाधिक १६ विकेट लिइसकेका छन् । कप्तान खानले १४ विकेट लिएका छन् । सन् २०१७ मा पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता जनाएका खान त्यसयता संसारका उत्कृष्ट ठहरिएका ब्याट्सम्यानका लागि समेत समस्या बन्दै आएका छन् ।
बिहीबार बिहान अफगानिस्तानले फाइनल यात्राका लागि दक्षिण अफ्रिकासँग भिडन्त गर्नेछ । दक्षिण अफ्रिकाको इतिहास पनि धेरै हदसम्म अफगानिस्तानसँग मिल्दोजुल्दो छ । रंगभेद नीतिका कारण अन्तर्राष्ट्रिय प्रतिबन्ध सहेको सो देश फुकुवा भएपछि पहिलो पटक सन् १९९२ मा एक दिवसीय विश्वकपमा सहभागी भएको थियो । सोही समयदेखि धेरैजसो प्रतियोगितामा उपाधि दाबेदारका रूपमा प्रस्तुत भएर पनि फाइनल प्रवेश गर्नसमेत असफल टोलीका रूपमा दक्षिण अफ्रिका थियो ।
प्रायः नकआउट प्रतियोगितामा दक्षिण अफ्रिकालाई हराउने अस्ट्रेलिया बाहिरिइसकेको छ । भारतसँग पनि दक्षिण अफ्रिकाको सेमिफाइनल भिडन्त हुने छैन । ठुला प्रतियोगितामा सो टोलीका लागि समस्या बनेको न्युजिल्यान्ड पहिलो चरण पार गर्न असफल भइसकेको छ । तनावको सामना गर्न नसक्ने दक्षिण अफ्रिकाले सो परिचय फेर्दै ६ वटा एकदमै तनाव र प्रतिस्पर्धात्मक खेल जितिसकेको छ । त्यसमा नेपालमाथिको १ रनको जितसमेत समावेश छ ।बिहीबार बिहानको खेल जसले जिते पनि विश्व क्रिकेटका लागि पृथक हुनेछ । जसले जिते पनि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गर्नेछ । यदि हार नै भए पनि अफगानिस्तानले ठुलो सफलता पाउँदै विश्व क्रिकेटमा नयाँ साख कायम गरेको छ, उनै ‘नायक’ खानको नेतृत्वमा ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar