न्युु योर्क – आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर ८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित हात पारेको छ । जितपछि समूह १ को समीकरण रोमाञ्चक मोडमा पुगेको छ । विजयी अफगानिस्तान रनरेटको आधारमा अस्ट्रेलियाभन्दा पछि रहँदै समूह १ को तेस्रो स्थानमा छ । भारतको ४ तथा बंगलादेशको शून्य अंक छ ।
अन्तिम खेल अफगानिस्तानको बंगलादेश तथा भारतको अस्ट्रेलियासँग छ । भारतले अस्ट्रेलियालाई तथा बंगलादेशले अफगानिस्तानलाई हराएमा भारतको ६ तथा अन्य ३ टोलीको २ अंक हुनेछ । रनरेटको आधारमा सेमिफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुंगो लाग्नेछ । अन्य कुनै पनि परिणामले बंगलादेश बाहिरिनेछ । अफगानिस्तान र भारतले जित हात पारेमा भारत र अफगानिस्तान शीर्ष २ मा रहँदै सेमिफाइनल प्रवेश गर्नेछन् । अफगानिस्तान र अस्ट्रेलिया विजयी भएमा बंगलादेश बाहेकका ३ टोलीको ६ अंक रहनेछ । रन रेटको आधारमा २ टोली सेमिmफाइनल प्रवेश गर्नेछन् । अन्य कुनै पनि परिणामले भारत सेमिफाइनल प्रवेश गर्नेछ ।
आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९ दशमलव २ ओभरमा अलआउट गर्दै २१ रनको जित हात पारेको हो । सुरुमा ब्याटिङ गरेको अफगानिस्तनका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले अर्धशतक बनाए । ४९ बल खेलेका गुरबाजले ४–४ चौका र छक्का प्रहार गर्दै ६० रन बनाए । अर्का ओपनर जाद्रानले ४८ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाएका हुन् । जाद्रानका लागि करिम जनातले १३ रन जोड्दा मोहम्मद नाबीले नटआउट १० रन बनाए । अफगानिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि प्याट कमिन्सले ३ विकेट लिँदा एडम जाम्पाले २ विकेट हात पारेका थिए भने मार्कस स्टोइनिसले १ विकेट लिए । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । मिचेल मार्शले १२ रन बनाउँदा मार्कस स्टोइनिसले ११ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाविरुद्ध घातक बलिङ गरेका अफगानिस्तानका गुलबदिन नायबले ४ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले मात्र २० रन दिएर ४ विकेट लिएका हुन् । नवीन उल हकले ३ विकेट लिए । उनले २० रन दिएर ४ ओभर बलिङ गरे । अफगानिसतानका लागि राशिद खान, अजमातुल्लाह उमरजाई र मोहमद नाभीले बाँकी विकेट लिए ।
प्रतियोगिताअन्तर्गत शनिबार राति भएको ‘सुपर–८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ । शनिबार राति भएको खेलमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर–८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको बंगलादेश ८ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १४६ रनमा समेटिएको हो ।
भारतको जितमा हार्दिक पाण्डडेले अर्धशतक बनाए । २७ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा उनले नटआउट ५० रन बनाएका हुन् । भारतका लागि ओपनर विराट कोहलीले ३७, कप्तान रोहित शर्माले २३ रन बनाउँदा ऋषभ पन्तले ३६ जोडे । शिवम् दुबेले ३४ रन बनाउँदा सूर्यकुमार यादव भने ६ रनमा समेटिएका थिए । बंगलादेशका लागि तान्जिम हसन सकिब र रिसाद होसैनले समान २–२ विकेट हात पारे भने सकिब अह हसनले १ विकेट लिए ।
१९७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए । तानजिद हसन २९, रिसाद होसैन २४, महमुदुल्लाह १३, लिटन दास १३ रनमा आउट हुँदा सकिब अल हसनले ११ रन जोडे । भारतका लागि कुलदीप यादवले ३ विकेट लिए । जसप्रित बुमराह र अर्शदीप सिंहले २–२ विकेट लिए भने हार्दिक पाण्ड्याले १ विकेट हात पारे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar