काठमाडौँ – खाद्य तथा कृषि क्षेत्रमा देखिएका चुनौतीको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
खाद्य प्रणाली रूपान्तरणको खाँचो औँल्याउँदै सरोकारवालाले संयुक्त राष्ट्र संघ, सरकार तथा गैरसरकारी निकाय, मिडियाकर्मीलगायत सबैले खाद्य स्वच्छता र सुरक्षाका सवालमा गम्भीर भएर लाग्न जोड दिएका हुन् । बुधबार एसोसियसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्ट्स (अनाज) र संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) ले संयुक्त रूपमा आयोजना गरेको खाद्य तथा कृषि रूपान्तरणका लागि पत्रकारिता विषयमा आयोजित ‘क्यापासिटेटिङ जर्नालिस्ट फर एग्रिफुड सिस्टम ट्रान्सफर्मेसन’ कार्यशालामा वक्ता तथा प्रस्तुतकर्ताले नेपालमा खाद्य तथा कृषि सञ्चार प्रवद्र्धनको विषय टड्कारो बनेको बताए ।
कार्यक्रममा मुख्य प्रस्तुतकर्ता एफएओका भुटान र नेपालका प्रमुख केन शिमिजुले कृषि तथा खाद्य क्षेत्रमा विभिन्न किसिमका चुनौतीहरू सामना गर्न सबै एकजुट हुनुपर्ने बताए । नेपालमा दिगो खाद्य व्यवस्था तथा दिगो कृषि, हिमाल, वातावरण, कृषिसम्बन्धी नयाँ प्रविधि, त्यसको सम्भावना र चुनौती, वातवरणीय परिवर्तनलगायत विषय उठान गरिनुपर्ने मुख्य विषय रहेको उनले बताए । यस्ता विषयमा एफएओले पनि प्राथमिकतासाथ काम गरिरहेको शिमिजुले जानकारी गराए ।
शिमिजुले फुड एन्ड न्युट्रेसन सेकुरिटी इन्ह्यान्समेन्ट प्रोजेक्ट विभिन्न ८ जिल्लालाई समेटेर अगाडि बढाइएको बताए । जसका लागि २० मिलियन अमेरिकी डलर बजेट रहेको र ५ वर्षको अवधि रहेको उनले जानकारी दिए । यस परियोजनाले पर्यावरण जोगाउने, कृषि उत्पादन जोगाउने लगायतका काम गर्नेछ । जसबाट ५५ हजार नागरिकले लाभ पाउने उनको भनाइ छ ।
कार्यशालामा प्रशिक्षक क्यानडाको युनिभर्सिटी अफ ओटवाका प्रोफेसर डा. भानुभक्त आचार्यले अहिले कृषिसम्बन्धी नयाँ प्रविधि, त्यसको सम्भावना र चुनौतीबारे बढी समाचार बनाउनुपर्ने बताए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले खाद्य स्वच्छता बढाउनका लागि लगानी बढाउनुपर्ने बताइन् । आयातित खाद्य वस्तुको नियन्त्रणका लागि आयात अनुमति लिनुपर्ने व्यवस्था रहेको र ऐनमै यसलाई समावेश गरिएको बताइन् । यसले थप व्यवस्थित र बलियो गरी यो व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ छ ।
लाइसेन्स ट्रेस गर्ने तथा आयात गरिरहेको वस्तु र उसले ल्याउँछु भनेको वस्तुमा तालमेलका लागि काम गर्नुपर्नेमा उनले जोड दिइन् । कार्यक्षत्र बीचको विवादका कारण पनि कहिलेकाहीँ उपभोक्ताको अधिकारमा पनि चुनौती थपिएको उनले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar