जनकपुर – पेट्रोलियम पदार्थ अभाव भन्दै मधेसमा अधिकांश पेट्रोल पम्प बन्द भएपछि बोतलमा पेट्रोलको कारोबार फस्टाएको छ । घुम्ती तथा किराना पसलमा बोतलमा राखेर पेट्रोलको कालोबजारी भइरहेको पाइएको हो ।
पेट्रोलियम ढुवानी मजदुर श्रम ऐनअनुसार तलब र अन्य सुविधाका साथै विभिन्न माग राखेर आइतबारदेखि आन्दोनलमा उत्रिँदा त्यसको सोझो असर पेट्रोल पम्पमाथि परेको छ । आइतबार बिहानदेखि पेट्रोलियमको मूल्य घटेको र सोही दिन पेट्रोलियम ढुवानी मजदुरहरूको आन्दोलन सुरु भएकाले पेट्रोल पम्प सञ्चालकहरूलाई ‘मौकामा चौका’ भएको छ ।
सर्लाही र रौतहटका करिब सबै पेट्रोल पम्पले ‘पेट्रोल छैन’ टाँसेका छन् । पम्पमार्फत् पेट्रोलको कारोबार करिब ठप्प भएको छ । पम्पबाट पेट्रोल नपाएपछि सर्वसाधारण ग्राहक भने बोतलको पेट्रोल किन्न बाध्य भएका छन् । पेट्रोल पम्पमा पेट्रोल नपाए पनि किराना पसल र अन्यत्र बोतलमा राखिएको पेट्रोल भने छ्यापछ्याप्ती पाइन्छ । सरकारले बोतलमा पेट्रोलियम पदार्थ बेच्न पूर्ण प्रतिबन्ध लगाए पनि मधेसका अधिकांश स्थानमा खुलेआम बोतलमा पेट्रोल बिक्रीवितरण भइरहेको छ ।
पेट्रोल पम्पहरूले भएको पेट्रोल पनि लुकाएर सर्वसाधारणलाई नबेचेको आरोप लगाउँछन्, रौतहटको माधवनारायण नगरपालिका–५ का उपभोक्ता ओमप्रकाश यादव । ‘भाउ घटेको समयमा पम्पवालाहरूले जहिल्यै पेट्रोल लुकाउँछन्,’ उनी भन्छन्, ‘जब पेट्रोलको भाउ घट्छ, तब अभाव देखाएर सर्वसाधारणलाई नबेच्ने, कालोबजारीमा पठाउने गरेका छन् ।’
रौतहट र सर्लाहीलगायत सबै ठाउँका पेट्रोल पम्प बन्द भएपछि सर्वसाधारणले घुम्ती तथा पान पसलबाट प्रतिबोतल २०० रुपैयाँमा पेट्रोल किन्न बाध्य भएका छन् । कतिपय पेट्रोल पम्पको छेउमै रहेको किराना, घुम्ती तथा पान पसलमा बोतलमा जति पनि पेट्रोल छ । तर, सँगैको पेट्रोल पम्पमा भने लेखिएको छ– पेट्रोल छैन ।
रौतहटको कटहरिया नगरपालिका–३ का चन्दन यादव पेट्रोल पम्पहरूले सर्वसाधारणलाई नदिने तर बोतलमा राखेर बेच्नेलाई पेट्रोल उपलब्ध गराउने गरेको आरोप लगाउँछन् । १ लिटरको बोतल भनिए पनि ८५० मिलिलिटरभन्दा बढी तेल हुँदैन । १ लिटर भनेर उपभोक्ताले किनेको पेट्रोलको नापमा कम हुने र निकै महँगोमा किन्नुपर्ने भएकाले उपभोक्ताहरू दोहोरो मारमा परिरहेका छन् । स्थानीय प्रशासनले बोतलमा पेट्रोल बेच्नेमाथि कारबाही गर्नुपर्ने माग उपभोक्ताहरूको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar