क्रसर र डिजेल प्लान्ट हटाउन अटेर
हेटौँडा – मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी प्रदूषण फैलाइरहेको शिवम् सिमेन्ट प्रालिले सरकारले दिएको निर्देशनकै अबज्ञा गरेको छ ।
मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी प्रदूषण फैलाइरहेको शिवम् सिमेन्टले उद्योगबाट सिर्जित समस्या तथा समाधानबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनका सुझाव पालना गर्न अटेरी गरेको छ । प्रतिवेदनले उद्योग परिसरभित्र रहेको अत्यधिक ध्वनि तथा वायु प्रदूषण फैलाउने क्रसर तथा डिजेल जेनेरेटर स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकाले पनि उद्योगले यी विषय कार्यान्वयन गर्न नसकिने जनाएको हो । पछिल्लो पटक वैशाख १३ गते उद्योगबाट सिर्जित समस्या तथा समाधानबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदनमा उल्लेख भएका अन्य बुँदामा समेत उद्योगले ठोस कार्ययोजना बनाउने अग्रसरता देखाएको छैन ।
मानव बस्ती तथा खेतीयोग्य जमिनको बीचमा रहेको सो उद्योगले मानव स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण फैलाइरहेको भन्दै स्थानीय बासिन्दा पटक–पटक आन्दोलित हुँदै आएका छन् । उद्योगबाट उत्सर्जन भइरहेको धुलो, धुवाँ तथा ध्वनि प्रदूषणबाट जनजीवनमा प्रत्यक्ष असर बढ्दै गएको भन्दै पुनः एक पटक आन्दोलन चर्किएपछि हेटौँडा उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा शिवम् सिमेन्टका प्रतिनिधिसहित उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, उद्योग संघका साथै स्थानीय सरोकारवालाहरू सम्मिलित समिति गठन भएको थियो ।
समितिले हेटौँडा उपमहानगरपालिकामा पेस गरेको प्रतिवेदनमा उद्योगले धुलो, धुवाँ र ध्वनि प्रदूषण नियन्त्रणमा चासो नदिएको उल्लेख छ । १ हप्ताभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन भए पनि उद्योगले आधिकारिक व्यक्तिलाई नपठाएको भन्दै झन्डै २ साता ढिलो गरी प्रतिवेदन पेस गरिएको थियो । खासगरी उद्योग परिसरभित्र रहेको क्रसर र डिजेल जेनेरेटरका कारण समस्या बढेको भन्दै दुवैलाई उद्योग परिसरभित्रबाट अन्यत्र स्थानान्तरण गर्न प्रतिवेदनले सुझाव दिएको छ ।
उद्योगका प्रबन्ध निर्देशक रघुनन्दन मारुले यी दुवै विषय कार्यान्वयन गर्न कठिनाइ रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका स्रोतका अनुसार प्रतिवेदनका बारेमा छलफल गर्न उपमहानगरपालिका कार्यालय पुगेका प्रबन्ध निर्देशक मारुले भण्डारण तथा ढुवानीलगायत विषयमा प्रतिवेदनले सुझाएका उपायहरूमा सकारात्मक रहे पनि तत्कालै क्रसर तथा डिजेल प्लान्ट स्थानान्तरण गर्ने विषयमा भने असहमति जनाएका थिए ।हेटौँडा उपमहानगरपालिकाले भने समस्या समाधानका लागि प्रतिवेदनले सुझाएका विषयहरूको कार्यान्वयनका लागि कार्ययोजना तयार गर्न उद्योगलाई पत्र काट्ने तयारी गरेको छ । ‘पत्र प्राप्त भएको १ साताभित्र उद्योगले कार्ययोजना पेस गर्नुपर्ने हुन्छ । त्यसपछि के गर्ने भन्ने टुंगो लाग्छ,’ उपमहानगरपालिका स्रोतले भन्यो ।
प्रतिवेदनमा उद्योगले यसअघि पटक–पटक स्थानीय तथा सरोकारवालाहरूसँग भएका सम्झौताहरूको पालना गर्नसमेत उद्योगलाई सुझाएको छ । पछिल्लो समय हेटौँडा उपमहानगरपालिका क्षेत्रबाट संकलित फोहोरमैला सीधै उद्योगमा लगेर इन्धनका रूपमा जलाएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका थिए । यद्यपि उद्योग प्रशासनले यस विषयमा असहमति जनाउँदै आएको छ ।
पटक–पटक देखापरेका विभिन्न समस्याको दीर्घकालीन समाधानका लागि उद्योगले पुराना कलपुर्जाहरूका ठाउँमा नयाँ प्रविधिका मेसिन जडान गर्नुपर्ने, धुवाँ, धुलो र ध्वनि प्रदूषण रोक्न उचित प्रविधि जडान गर्नुपर्ने साथै उद्योग स्थापना गर्दा र गरिसकेपछिका सबै मापदण्ड पूरा गरेर मात्र उद्योग नियमित सञ्चालन गर्नसमेत प्रतिवेदनले सुझाव दिएको छ ।
यस्तै, प्रतिवेदनमा समस्या समाधानका लागि स्थानीय सरोकारवालाहरूसँग उद्योगले पटक–पटक वार्ता गरेर निर्णय र सम्झौता भए पनि त्यसको कार्यान्वयनको पक्षमा उद्योग नदेखिएको उल्लेख छ । प्रदूषणका कारण उद्योगको छेवैमा रहेको आधारभूत विद्यालयमा नियमित कक्षा सञ्चालनमा समेत कठिनाइ भइरहेकामा पनि प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar