किङ्सटन – वेस्ट इन्डिज क्रिकेट टोलीका प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले प्रभावशाली अलराउन्डर जासन होल्डर विश्वकप टोलीबाट बाहिरिनु चिन्ताको विषय भएको बताएका छन् । जासन होल्डर टोलीका अनुभवी खेलाडी भएकाले विश्वकपमा उनको अभाव खड्किने डेसमन्डको ठम्याई छ ।
३२ वर्षीय जासन होल्डर टी–२० विश्वकपको सँघारमा चोटका कारण टोलीबाट बाहिरिएका हुन् । उनी क्यारेबियन टोलीका पूर्वकप्तान पनि हुन् । टी–२० विश्वकपको नवौँ संस्करण १ देखि २९ जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।जासन होल्डरको स्थानमा बायाँहाते तिब्रगतिका बलर ओबेद मकोएलाई विश्वकप टोलीमा स्थान दिइएको छ । ओबेद मकोए सोमबार सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा पनि क्यारेबियन टोलीमा सहभागी थिए । उक्त शृङ्खलामा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ३–० ले हराएको थियो ।
काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा जासन होल्डर घाइते भएका हुन् । काउन्टी च्याम्पियनसिपको केन्टविरुद्धको खेलमा उनले वर्केस्टरशायरका लागि शतक पनि बनाएका थिए । यद्यपि, क्रिकेट वेस्ट इन्डिजले जासन होल्डरको चोटको विषयमा विस्तृत रुपमा केही बताएको छैन ।
‘विश्वकपमा जासन होल्डरको अनुपस्थिति हाम्रा लागि चिन्ताको विषय हो । उनी टोलीका अनुभवी अलराउन्डर हुन् । उनी छिट्टै टोलीमा फर्कनेछन् भन्ने विश्वास हामीले लिएका छौँ । विश्वकपको सँघारमा क्रिकेट वेस्ट इन्डिजका लागि यो दुर्भाग्यपूर्ण क्षण हो,’ प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले भनेका छन् ।
उनले ओबेद मकाए पनि क्षमतावान् खेलाडी भएको बताए । ‘ओबेद मकाए पनि प्रतिभाशाली खेलाडी हुन् । उनका लागि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता देखाउने यो उपयुक्त अवसर पनि हो,’ डेसमन्ड हेन्स भन्छन् ।
केही समयअघि वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा आएको थियो । त्यतिबेला ओबेद कमाए पनि क्यारेबियन टोलीमा थिए । नेपाल भ्रमणका क्रममा उनले पाँचवटा टी–२० खेलमा कुल ८ विकेट लिएका थिए । हालै सम्पन्न दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा पनि उनले २ विकेट लिएका थिए ।
वेस्ट इन्डिजको क्लिन स्विप
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि घरेलु टोली वेस्ट इन्डिज विजयी भएको छ । तेस्रो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको हो ।
जितसँगै क्यारेबियन टोलीले तीन खेलको शङ्खलामा ‘क्लिन स्विप’ गरेको छ । पहिलो खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई २८ रनले हराएको थियो । दोस्रो खेलमा पनि वेस्ट इन्डिज १६ रनले विजयी भएको थियो ।
तेस्रो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने १३.५ ओभरमै केवल २ विकेट गुमाएर १६५ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।
वेस्ट इन्डिजको सजिलो जितमा जोन्सन चार्ल्सले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ६९ रनको योगदान गरे । अनुभवी ब्याट्सम्यान चार्ल्सले केवल २६ बलको सामना गरी पाँच छक्का र नौ वटा चौका पनि हिर्काएका थिए ।
कप्तान ब्रान्डन किङले पनि टोलीको खातामा ४४ रन थपे । त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि कप्तान राशि भान डर डुसेनले अर्धशतकीय पाली खेलेका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३१ बलमा पाँच छक्का र एक चौकाको मद्दतले ५१ रन बनाए ।
वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले तीन विकेट लिए । क्यारेबियन टोलीका बलर गुडाकेश मोटी र सामर जोसेफले पनि दुई–दुई विकेट हात पारे । वेस्ट इन्डिजका जोन्सन चाल्र्स प्लेयर अफ दी म्याच घोषित भए । वेस्ट इन्डिजकै गुडाकेश मोटीले प्लेयर अफ दी सिरिजको पुरस्कार हात पारे ।
दक्षिण अफ्रिका विश्वकपको समूह ‘डी’ मा परेको छ । नेपाल पनि त्यही समूहमा रहेको छ । दक्षिण अफ्रिका र नेपालका अतिरिक्त त्यो समूहमा श्रीलंका, बगलादेश र नेदरल्यान्ड्स पनि छन् । यो समूहमा तीनवटा टेस्ट राष्ट्र छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar