काठमाडौं– गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ ।
मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो । प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरूका लागि मङ्गलबार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिए ।
उनले लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई–मधेसका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको बताए । परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ ।
सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्तिलाई प्रयोग गर्न पनि भनिएको छ ।
’लू’ र यसबाट बच्ने उपाय गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ ।
’लू’ बाट जोगिन चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतबारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्को घाममा नहिँड्ने वा काम गर्ने परे शीतल हुनेगरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ ।
पत्रु खाना (जङ्कफुड) नखाने, घरमै बनाएको ताजा खानेकुरा खाने, घरमा शीतल हुनेगरी पर्दा, पङ्खा, सिलिङ र झ्यालढोकाको प्रबन्ध गर्ने गर्नुपर्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar