सुर्खेत – केन्द्रको सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णाली प्रदेशमा तरङ्ग पैदा भएको छ ।
प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए । तर मुख्यमन्त्री शर्माले केन्द्रको निर्णयलाई बेवास्ता गर्दै विश्वासको मत लिएर अघी बढ्न लागेको बुझिएको छ । मुख्यमन्त्री शर्माले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डबाट ढिला सूचना आएकोले र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने’ जवाफ दिएको शर्मा निकट श्रोतले बताएको छ ।
‘अध्यक्ष कमरेड प्रचण्डले मुख्यमन्त्रीज्यूलाई नै फोन गरेर एमालेलाई नेतृत्व छाड्न भन्नु भएको थियो,’ ‘मुख्यमन्त्रीज्यूले पनि केन्द्रबाट गलत समय र तरिकाको निर्णय आएकाले विश्वासको मत लिने जवाफ दिनुभएको छ ।’श्रोतले भन्यो ।
यता मुख्यमन्त्री शर्माले आज मंगलबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । केन्द्रमा सत्ता समीकरणमा फेरबदल आएपछि २२ फागुनमा तत्कालीन सत्ता साझेदार कांग्रेसले मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
सोही अनुसार प्रदेश सभाबाट विश्वासको मत लिने गरी आइतबार संसद् सचिवालयलाई पत्र समेत पठाएका थिए । संसद् सचिवालयले चैत २० गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाएको छ ।
केन्द्रको निर्णय अनुसार राजीनामा दिनुपर्ने मुख्यमन्त्री शर्माले राजीनामा नदिएर प्रदेश सभाको कार्यसूची अनुसार नै आज विश्वासको मत लिने श्रोतको दाबी छ । ‘मुख्यमन्त्रीज्यूले राजीनामा दिनुहुन्न । प्रदेश सभाको कार्यसूची अनुसार नै विश्वासको मत लिनुहुन्छ,’ उनले भने । केन्द्रको निर्णय अनुसार अघि बढ्ने नै भए पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने शर्माको दावी छ । संवैधानिक प्रक्रिया अवलम्बन गरेर अघि बढिसकेपछि केन्द्रले हस्तक्षेप गर्दा प्रदेशको स्वायत्तता माथि हनन् हुने शर्माको भनाई रहेको उनले भने । शर्माले बेन्द्रले धेरै हस्तक्षेप गरे कर्णालीमा पनि कोशीको जस्तै परिस्थिति आउनसक्ने बताएको उनले भने ।
कर्णालीमा माओवादीको जनाधार बलियो भएको र बढी सिट पनि जितेकाले नेतृत्व छाड्न नहुने शर्माको तर्क छ । अब मुख्यमन्त्री शर्मासामु राजीनामा दिने या प्रदेशसभा फेस गर्ने ? दुई वटा विकल्प रहेका छन् । मुख्यमन्त्री शर्माले भने प्रदेशसभा फेस गर्ने बताएका छन् । विश्वासको मत पाउँछन् या पाउँदैनन् भन्ने विषय नै अन्योलमा छ ।
उता नेपाली काँग्रेसले भने त्यस्तो परिस्थीती सिर्जना भए कर्णालीमा शर्मालाईनै विश्वासको मत दिने तयारी गरेको छ । त्यसो हुँदा कर्णालीमा काँग्रेस र माओवादीको सरकार बन्ने निस्चीत देखिन्छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । अहिले माओवादीसंग १३ र काँग्रेससंग १५ जना सांसदहरु रहेका छन् । त्यसो हुँदा माओवादी भित्रै शर्मासंग १० जना सांसदहरु रहेका छन् भने काँग्रेसका १५ जनाले समर्थ गरेमा शर्मासंग २५ जनाहित स्पष्ट बहुमत पुग्दछ ।
उता एमालेका १० र एकीकृत समाजवादी र राप्रपाको १/१ जना सांसद छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar