काठमाडौं – सुन तस्करी प्रकरणमा सीआईबीको अनुसन्धानमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले हाजिरी जमानतमा छाड्ने तयारी गरेको छ ।
महराको बयान सकिएपछि आजै हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको सीआईबी श्रोतले बताएको छ । प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।
सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो । अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमतिसम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ । अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो ।
स्वास्थ्य अवस्थालाई ख्याल गर्दै बयान भइसकेकाले बाहिरै राखेर पनि थप अनुसन्धान गर्न मिल्ने भएकाले सरकारी वकिलको कार्यालयमार्फत उनलाई हाजिरी जमानतमा छाड्न लागिएको अधिकृतहरु बताउँछन् ।
महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar