काठमाडौं – ठेगाना सर्भिसेसले केवाईसी अपडेट गर्न सजिलाे बनाउने ‘ठेगाना आईडी’ एप सार्वजनिक गरेको छ । बुधवार कम्पनीले आईओएस र एन्ड्रोइडका लागि एप सार्वजनिक गरेको हो ।
पहिचान प्रमाणीकरणको प्रक्रियालाई सहज बनाउन बजारमा आएको यो कम्पनीले मोबाइलबाटै केवाईसी अपडेट गर्न मोबाइल एप सार्वजनिक गरेको ठेगाना सर्भिसेसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल केसीले बताए ।
“यो एपले पहिचान प्रमाणीकरण प्रक्रिया सहज र सरल बनाउँछ,” टेकपानासँग कुरा गर्दै सीईओ केसीले भने, “त्यसका साथै यो प्लेटफर्मले सेवाग्राहीको व्यक्तिगत विवरण, डिजिटल प्रमाणपत्र तथा दस्तावेजलाई सुरक्षित राख्छ ।”
विशेषगरी बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक कम्पनी र अन्य विभिन्न संघसंस्थाको सेवा लिन सेवाग्राहीले हरेक पटक परम्परागत तरिकाले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । हरेक पटक उही विवरण भरिरहने प्रक्रिया झन्झटिलो भएको भन्दै त्यसलाई सहज, सरल र छिटो बनाउन ठेगाना आईडी सुरु गरिएको केसीले सुनाए ।
गत वर्ष ठेगाना सर्भिसेस र सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमबीच सहकार्य भएको थियो । अब टेलिकमकाे केवाईसी अपडेट गर्न सेवाग्राही कार्यालयसम्म धाउनु नपर्ने केसीले बताए ।
“हाम्रो पहिलो ग्राहक टेलिकम हो । टेलिकमका ग्राहकले अब घरमै बसेर ठेगाना आईडी एप डाउनलोड गरी आफ्नो केवाईसी अपडेट गर्न सक्नेछन्,” उनले भने, “एकपटक केवाईसी भरिसकेपछि उक्त विवरण पछिसम्म काम लाग्छ । त्यति मात्र नभई सेवाग्राहीले अर्को पटक सहजै केवाईसी अपडेट गर्न सक्नेछन् ।”
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar