काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपालले नामिबियालाई जीतको लागि १३३ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिला नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।
त्यसपछि ब्याटिङमा उत्रेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्रै बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ८६ बलको सामना गर्दै दुई चौका र एक छक्का हिर्काए । त्यस्तै, गुलसन झाले २१ रन बनाए । उनले ३१ बलमा ३ चौका प्रहार गरेका थिए ।
करण केसीले ३८ बलमा १६ रन बनाए । कुशल मल्लले २२ बलमा एक चौका र एक छक्का हिर्काउँदै १५ रन बनाए । पवन शर्राफले १२ रन बनाए । नामिबियाका लागि जेरहार्ड इरासमसले पाँच तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले दुई–दुई विकेट लिए ।
खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर ट्रम्पेलम्यानको दोस्रो शिकार बने ।
यसअघि चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भए । १०औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ब्रासेलको बलमा आउट भए ।
त्यसपछि कुशल मल्ल १५ रन बनाएर जेरहार्ड इरासमसको बलमा आउट भए । नामिबियाको टोलीका कप्तान इरासमसले त्यसपछि सोमपाल कामी, भीम सार्की र गुल्सन झालाई आफ्नो शिकार बनाए ।
नवौँ विकेटका रुपमा पवन शर्राफ जान निकोल लोफ्टी इटनको बलमा कप्तान इरासमसबाट क्याच आउट बने । करण केसी इरासमसको खेलमा पाँचौं शिकार बने । इरासमसले पाँच विकेट लिएको पहिलो अवसर हो ।
नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा नेदरल्याण्ड्सविरुद्ध खेल्ने तालिका छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar