बारा – श्रम तथा यातायात व्यवस्था कार्यालय वीरगञ्ज पर्साले साढे ६ महिनामा पौने ८१ करोड राजस्व संकलन गरेको छ ।
सवारी कर तथा सवारीचालक करबाट कार्यालयले चालु आर्थिक वर्षको ६ महिना १९ दिनमा ८० करोड ७९ लाख ३९ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको श्रम तथा यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख उमेश रेग्मीले जानकारी दिए । यस कार्यालयबाट हुँदै आएको काम अन्य जिल्लामा बाँडिएपछि पहिलाको तुलनामा पछिल्लो समय कामको चाप घटेको उनले जानकारी दिए ।‘अहिले जिल्ला जिल्लामा यातायात व्यवस्था कार्यालय खुलिसकेका छन्’, उनले भने, ‘त्यसकारण वीरगञ्ज कार्यालयमा सेवाग्राहीको चाप घट्न गएको हो ।’ सेवाग्राही र कामको चाप घटेसँगै राजस्व घट्नु स्वभाविक भएको उनले बताए ।एउटा काम गराउन सेवाग्राहीले दुई/तीन दिन कार्यालय धाउनुपर्ने वाध्यता अहिले हटेको र एकदिनमै काम गराएर सेवाग्राही घर फर्किने गरेको उनले जानकारी दिए ।
कार्यालयबाट प्रदान गरिने सवारी नामसारी, सवारी नवीकरण, सवारीचालक अनुमतीपत्र नवीकरण लगायतका काम छिटोछरितो रूपमा हुन थालेको उनले जानकारी दिए । अहिले नयाँ लाइसेन्स लिने सेवाग्राहीको संख्या वीरगञ्ज कार्यालयमा बढी रहेको पाइएको उनले जानकारी दिए । लाइसेन्स सेवा पनि अनलाइनमार्फत सञ्चालन भएपछि सेवाग्राहीको भिडभाड कार्यालयमा कम भएको उनले बताए ।कार्यालयबाट प्रदान हुँदै आएको ड्राइभिङ लाइसेन्स सेवा मध्ये सबभन्दा बढी मोटरसाइकलको लाइसेन्सका लागि आवेदन पर्ने गरेको यातायात व्यवस्था कार्यालय वीरगञ्जका राजस्व शाखाका लेखापाल रघुनन्दन साहले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि अहिलेसम्मको अवधिमा ६ हजार ६ सय ७ वटा मोटरसाइकलको लाइसेन्स जारी भएको उनले जानकारी दिए । यो अवधिमा ६ हजार १ सय ८० जनाले मोटरसाइकलकै लाइसेन्सको लागि नयाँ आवेदन दिएको उनले बताए ।
लाइसेन्स नबोकी सवारी चलाउँदा ट्राफिक प्रहरीले चर्को जरिवाना काट्न थालेपछि कार्यालयमा लाइसेन्स लिन आवेदन दिने सेवाग्राहीको संख्या बढेको उनले बताए । पछिल्लो समय यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट प्रभावकारी सेवा प्रदान गर्न थालिएपछि सेवाग्राहीको आकर्षण बढेको उनले दाबी गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar