काठमाडौं – प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारका प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीको चर्को आलोचना गरेका छन् ।
बिहीबार सिंहदरबारमा भएको प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरुसँगको छलफलमा मुख्यमन्त्रीहरुले संघीय सरकारको कार्यक्षेत्र भित्रका काममा मन्त्रीहरुले चासो नदिएको भन्दै चर्को आलोचना गरेका हुन् । उनीहरुले संघीयता कार्यान्वयनमा संघीय मन्त्रीहरु उदासीन भएका र मन्त्रालयहरुले गर्नुपर्ने काममा तत्परता नदेखाएको आरोप लगाए ।
मुख्यमन्त्रीहरुले मन्त्रीहरुले संघीयता कार्यान्वयनमा गरेको कामको आधारमा रिपोर्टकार्ड बनाउनुपर्ने मागसमेत गरेका छन् । छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीले लिएको पहलको भावना मन्त्रीहरूले पनि बुझ्नुपर्ने बताए । ‘संघीयता कार्यान्वयनमा संघीय मन्त्रीज्यूहरूको ‘रिपोर्ट कार्ड’ जान्न चाहेका छौं, संघीय मन्त्रीहरूले तल हस्तान्तरण गर्नुपर्ने अधिकारमा ढिलाइ नगर्नुस्’, उनले भने । कार्कीले संघीय मन्त्रीहरुले प्रदेश सरकारसँग समन्वय नै गर्न नचाहेको आरोप लगाए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनमा संघीय मन्त्री र सांसदहरु पनि जिम्मेवार रहेको बताए । उनले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक छिटो विस्तार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले छिमेकी मुलुक भारतसँग जोडिएका छोटी भन्सार कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरे ।
मधेश प्रदेशमा सिँचाइ र खानेपानीको चर्को समस्या रहेको उल्लेख गर्दै उनले समस्या समाधान गर्न संघीय सरकारले पहल गर्नुपर्ने बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संघीयता कार्यान्वयनमा देखिएका ढिलासुस्तीको समीक्षा गर्नुपर्ने बताए । कर्णाली प्रदेशमा अझै विद्युतीकरण नभएको, कृषियोग्य भूमिमा सिँचाइको भरपर्दो सुविधा नभएको, दूरसञ्चार सेवा कमजोर रहेको भन्दै उनले संघीय सरकारले ध्यान दिनुपर्ने बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारका मन्त्रीहरूले प्रदेशको समस्या समाधानमा अग्रसरता नलिएको भन्दै दुःख प्रकट गरे । उनले पूर्ण संघीयता लागु गर्न ढिलो हुनुमा केन्द्रिकृत मानसिकता जिम्मेवार रहेको बताए ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीय मन्त्रालयले अधिकार छिटो हस्तान्तरण गर्नुपर्ने धारणा राखे । उनले संघीयता कार्यान्वयनमा कर्मचारी प्रशासनले एकात्मक मानसिकता त्याग्नुपर्ने पनि बताए । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यान्वयनमा प्रधानमन्त्रीले देखाएको सक्रियतालाई संघीय मन्त्रीहरूले पनि अनुशरण गर्नुपर्ने बताए ।
मुख्यमन्त्रीहरु कुरा सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता कार्यान्वयनमा प्रदेश सरकारका मुख्यमन्त्रीहरू कुरा सुन्न र आवश्यक सम्बोधन समेत गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिए । प्रधानमन्त्रीले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्न निर्देशित गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar