मलेखु ,धादिङ – आगामी माघ २७ गते सोनाम ल्होसारको अवसरमा धादिङको मलेखुमा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
टसी छ्योईलिङ गुम्बा गजुरी २ र नेपाल तामाङ घेदुङ संघ ले २८६० औं सोनाम ल्होसारको अवसर तथा ‘मु पुखी गरुड वर्ग को पावन अवसर’ मा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । मलेखुको गुम्वाडाँडामा आयोजना हुने कार्यक्रममा तामाङ जातिको कला, संस्कृति, बिभिन्न झाँकी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
आयोजक बासु तामाङका अनुसार उक्त कार्यक्रममा टिका बोम्जन, शेर बहादुर गुरुङ जादुगर, सविना तामाङ, चन्द्रमान तामाङ, राजुमान रुम्वा, निरोज स्याङ्वो लगायतको प्रस्तुती रहने छ । त्यस्तै तामाङका अनुसार उक्त कार्यक्रममा गजुरी गाउँपालिका र हाइृल्याण्डर डिष्ट्रलरीले आर्थिक सहयोग गरेको छ ।
के हो ल्होसार ?
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व। ‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ। जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होसारको अर्थ नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ। ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन्।
जस्तै मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुंसुर गरी १२ वटा वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ। ल्होसारका १२ वटै वर्ष पशुपंक्षीका नामबाट गणना गरिएकाले यसलाई प्रकृतिपूजकका रूपमा समेत लिने गरिन्छ।
सोनाम ल्होसारमा तामाङ समुदायमा हर्षोल्लास छाउने गर्दछ। उक्त समुदायले ठूलो उत्सवको रूपमा मनाउने प्रचलन छ। ल्होसारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टिकाटालो र परस्पर सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै तहअनुसार आर्शीवचन लिने–दिने अनि शुभकामना आदान – प्रदान समेत गर्ने गरिन्छ।
त्यस अवसरमा विभिन्न खानाका परिकार बनाउने, नाचगान गरी रमाइलो गर्ने परम्परा पनि रहेको छ। पछिल्लो समय महोत्सवको आयोजना गरेर तामाङ जातिको खाना, भेषभुषा, काल, संस्कृतिलगायत प्रदर्शन गर्ने प्रचलन समेत छ। ल्होसार पर्वहरू प्रारम्भमा जातीय पर्वका रूपमा मात्र सीमित रहेका थिए। तर यी पर्वहरू विस्तारै आम नागरिकका पर्वमा रूपान्तरण भएका छन्। ल्होसार पर्वहरू एकातिर राष्ट्रिय उत्सवका रूपमा विकसित भएकमा छन् भने अर्कोतिर नेपालीले टेकेको विश्वको कुनै पनि भूभागमा विस्तार भइरहेको छ।
यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध समेत बढिरहेको छ भन्दा हुन्छ। यति मात्र होइन यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न तथा जातजातिबीच सामाजिक सद्भाव कायम गर्न भूमिका समेत खेलेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar