काठमाडौं – फेसबुक कमेन्टमा @highlight लेखे अकाउन्ट सुरक्षित भए/नभएको थाहा हुने भन्दै नेपाली प्रयोगकर्तालाई झुक्याउने गरेको पाइएको छ । मनोरञ्जनका लागि खोलिएका फेसबुक पेजले यसरी कमेन्ट गरेकै भरमा अकाउन्ट सुरक्षित नभएको थाहा पाउन सकिने भन्दै भ्रम छरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘फेसबुकको नयाँ आश्चर्य’ सर्च गर्ने हो भने कैयौं फेसबुक पेजले मेटाका सीईओ मार्क जुकबर्गको फोटो सहित त्यस्तो पोस्ट राखेको देख्न सकिन्छ । “फेसबुकको नयाँ आश्चर्य, कमेन्टमा जानुहोस् र पहिले @ लेख्नुहोस्, त्यसपछि हाइलाइट highlight लेख्नुहोस्,” पोस्टमा लेखिएको छ, “यदि हाइलाइट टेक्स्ट नीलो छ भने, तपाईंलाई थाहा छ तपाईंको आईडी बलियो छ र कसैले सजिलै ह्याक गर्न सक्दैन ।”
त्यसबाहेक ती पोस्टमा हाइलाइट लेखिएको कमेन्ट निलो भएन भने निलो बनाउन प्रयोगकर्तालाई पेज फलो सुझाव दिइएको छ । फलो गरिसकेपछि अक्षर निलो आएन भने पोस्ट शेयर गर्नु भनिएको छ । त्यति गर्दा पनि कमेन्ट निलो भएन भने अकाउन्ट असुरक्षित छ भन्दै मिथ्या फैलाइरहेको देखिन्छ ।
ती पोस्टहरूमा केहीले शंका व्यक्त गरेका छन् भने केहीले अकाउन्ट सुरक्षित भए नभएको जाँच्न हाइलाइट लेखेर कमेन्ट गरिरहेका छन् । यस्तो हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ता सहजै झुक्किन्छन् भने अकाउन्ट सुरक्षित बनाउने नाममा त्यस्ता भ्रामक पेज फलो गर्दै बस्छन् ।
के हुन्छ @हाइलाइट कमेन्ट लेख्दा ?
@हाइलाइट र @फलोअर फेसबुकमा केही समयअघि मात्र आएका फिचर हुन् । हाइलाइट यस्तो ट्याग हो, जसले एड भएका व्यक्तिहरूलाई कुनै पनि पोस्टबारे जानकारी दिन्छ ।
उदाहरणका लागि तपाईंले कुनै पोस्टमा @highlight कमेन्ट गर्नुभयो भने तपाईंका साथीहरूसामु उक्त पोस्ट पुग्छ । त्यस्तै @Follower ट्याग राखेर कमेन्ट लेख्नुभएको छ भने तपाईंलाई फलो गर्ने अकाउन्टसम्म उक्त पोस्ट पुग्छ । कतिपयलाई नोटिफिकेसन मार्फत तपाईंलाई मेन्सन गरिएको भनेर जानकारी जान्छ भने कतिपयको फिडमा देखिन्छ ।
कुनै संवेदनशील पोस्ट छ वा तपाईंले आफूसँग एड भएका व्यक्ति वा फलोअरलाई कुनै पोस्टको जानकारी दिनु परे यस्तो ट्याग प्रयोग गर्न सक्नुहुन्छ । फेसबुक पेजहरूले यसरी आफ्नो फलोअर बढाउन यस्तो तरिका अपनाएको देखिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar