सर्लाही – सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो । यो बेलामा भेला हुन, सभा तथा गतिविधि गर्न रोकिएको छ ।
नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ । हिजो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै छ ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार हिजो तनाव भएको ठाउँमा आज पनि बिहानैदेखि प्रहरी खटिएका छन् ।
स्तरोन्नतिका लागि नगर अस्पताल मधेस प्रदेश सरकारलाई हस्तान्तरणको माग गरी भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी बरहथवा नगरपालिका–६ का ३० वर्षका साहको ज्यान गएको थियो ।
लगत्तै हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले गोली चलाउन आदेश नदिएको र के कति कारणले गोली चल्यो भन्नेबारेमा थप अनुसन्धान हुने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar