सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।
सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बराहक्षेत्र नगरका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको उनले बताए ।
गुरुङका अनुसार सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद तथा पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेका हुन् । झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौंले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले बताए ।
बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । यो क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलङ्का टापुमा चार हजार पाँच सय घर धुरीका १० हजार बढीको बसोबास रहेको बराहक्षेत्र–६ का वडाध्यक्ष उद्ववप्रसाद पोखरेलले बताए । उनले पुल बनेपछि श्रीलङ्का टापुवासीको दैनिकी सहज हुने विश्वास व्यक्त गरे ।
जिल्ला सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुङ्गाको प्रयोग गर्दै आइरहेका छन् ।
वर्षायाममा सप्तकोशीमा पानीको बहाव बढ्ने भएकाले डुङ्गाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar