काठमाडौं– काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ ।
सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको भन्दै महानगरले बिक्रि वितरणमा रोक लगाएको हो ।
महानगरको सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ ।
काठमाडौं महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटेल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयहरू लगायतका सार्वजनिक स्थलहरूमा धूम्रपान, चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ लाई निषेध गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रस्ट व्यवस्था गरेको जनाएको हो ।
महानगरले आजभन्दा ठिक १५ दिन अघि एक सूचना प्रकाशित गर्दै सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सो घोषणा आजबाट लागू भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar