काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१ औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले १ अर्ब रुपैयाँको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ’, नास्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि त्यो कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ ।’
विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरूले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उनले देशमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताए ।
‘सरकारले तपाईँहरूले अपेक्षा गरेअनुसारको स्रोत प्रदान गर्न सकेको छैन । सरकारका पनि विभिन्न बाध्यता हुँदा रहेछन्’, प्रधानमन्त्रीले भने, ‘म आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान प्रविधिको विकासमा हामीले फड्को मार्न नसक्नुका कारण तत्त्वबारे जानकार छु ।’
उनले आउँदो १६ औँ पञ्चवर्षीय योजनामा विज्ञान तथा प्रविधिका क्षेत्रको विकासका लागि अख्तियार गर्नुपर्ने रणनीतिका बारेमा गहन छलफल गरेर रणनीतिक योजनाको खाका तयार गर्न आग्रह गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar