काठमाडौं– शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्याएको ५ करोड बजेट कटौती गरिने भएको छ । उक्त रकम पर्यटन प्रवर्द्धनका लागि इलामकै सोही क्षेत्रमा लगानी गर्ने कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ले जनाएका छन् ।
मन्त्रालयको जिम्मेवारी पाएलगत्तै आइतबार पद बहाली गर्दै मन्त्री उप्रेतीले शौचालय बनाउन छुट्याएको ५ करोड रकममध्ये ५० लाख सोही प्रयोजनमा खर्च गर्ने र बाँकी रहेको पैसा इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने बताएका हुन् ।
प्रदेशका मन्त्री शम्शेर राईको निर्वाचन क्षेत्रमा पर्ने श्रीअन्तुमा शौचालय निर्माण गर्ने भन्दै प्रदेशको बजेटसम्बन्धी रातो किताबमा ५ करोड रुपैयाँ छुट्याइएको थियो । उक्त विषयमा सरकारको चर्को आलोचना हुँदै आएको छ ।
यसैबिच मन्त्री उप्रेतीले पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहको पोखरी निर्माणका लागि भएको खर्चको पनि छानबिन गरिने बताए ।
उक्त पोखरी निर्माणका लागि भन्दै यस वर्ष पुनः ४ करोड रुपैयाँ छुट्याइएको छ । सो पोखरी निर्माणका नाममा लामो समयदेखि बजेट छुट्याइए पनि काम नभएको भन्दै आलोचना भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar