काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ ।
प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको यो पदक यस वर्षदेखि वितरण नगरिने भएको हो ।
त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेस्टर प्रणालीअनुसार सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए ।
‘स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ’, उनले भने, ‘सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।’
कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उनको भनाइ छ ।
दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिए । उनका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ ।
त्रिविको ४९ औँ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । रासस
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar