काठमाडौं – अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचकहरु बलियो भएसँगै अर्थतन्त्र सुधारतर्फ जना थालेको सूचकांकहरुले देखाएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा आन्तरिक क्षेत्रले पनि विस्तारै लय समाउन थालेको औंल्याएको हो ।
तर, ३ महिनामा ३ खर्ब ६६ अर्ब व्यापार घाटा रहेको पनि तथ्यांकले देखाएको छ । असोज मसान्तसम्म आयात व्यापार १.७ प्रतिशतले वृद्घि भई ४ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा निर्यात व्यापार भने ४० अर्ब ८७ करोड रुपैयाँ मात्रै रहेको कारण व्यापार घाटा करिव ४ खर्बको नजिक पुगेको हो ।
आयात वृद्धिसँगै सरकारको राजस्व पनि बढ्न थालेको छ । यसैगरी शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चितिलगायतका बाह्य क्षेत्रका सूचकहरु पनि थप बलियो बनेका छन् । उच्च विप्रेषण आप्रवाह र पर्यटनलगायतबाट हुने सेवा आय वृद्धि हुँदा विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
गतवर्ष विदेशी मुद्रा सञ्चिति न्यून विन्दुमा झर्नुका साथै आयात धान्ने क्षमता सीमित भएपछि राष्ट्र बैंक र सरकारले कसिलो नीति लिएका थिए । सरकारले विलासी सामानको आयातमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्र बैंकले पनि आयातका लागि प्रयोग हुने र अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइको नीति लियो । फलस्वरुप आर्थिक गतिविधि खुम्चियो । अर्थतन्त्रको बाह्य सूचकहरु सहज भएसँगै सरकार र राष्ट्र बैंक लचिलो बनेका छन् । कसिलो मौद्रिक नीतिमार्फत कर्जा प्रवाहमा कडाइ गरेको राष्ट्र बैंकले गत महीनामात्र घरजग्गा, सेयर, गाडीलगायत क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धी नीतिमा पुनरवलोकन गरिसकेको छ । यसबाट आर्थिक गतिविधि बढ्न थालेको पाइएको छ ।
आर्थिक गतिविधि शिथिल भएसँगै गत वर्षदेखि नकारात्मक भएको बैंकहरुको निक्षेप तथा कर्जा लगानी बढ्न थालेको छ । बैंकहरुको आधारदरसँगै ब्याजदर घट्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्ममा बैंक, वित्तीय संस्थामा रहेको निक्षेप २ दशमलव ८ प्रतिशत र कर्जा प्रवाह २ दशमलव ३ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा निक्षेप ० दशमलव ४ प्रतिशत र कर्जा १ दशमलव ३ प्रतिशतले बढेको थियो । बैंकहरुको आधारदरसँगै निक्षेप र कर्जाको ब्याजदर पनि घट्न थालेको छ । तरलताको अवस्था सहज भएपछि बैंकहरुले ब्याजदर तथा प्रिमियम घटाएर भए पनि कर्जा प्रवाह बढाउन थालेका छन् ।
शोधनान्तर र विदेशी मुद्रा सञ्चितिमा सुधार
चालु आवको असोजसम्ममा देशको शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा थियो । यसैगरी अमेरिकी डलरमा अघिल्लो वर्षको असोजसम्ममा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालू आवको असोजसम्ममा ७४ करोड ७२ लाखले बचतमा छ ।
शोधनान्तर बचत उच्च हुँदा विदेशी मुद्राको सञ्चिति पनि हालसम्मकै उच्च भएको छ । २०८० असारसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ दशमलव ७ प्रतिशतले वृद्धि भई असोजसम्ममा १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा सञ्चिति २०८० असारमा ११ अर्ब ७१ करोड रहेकोमा असोजमा ५ दशमलव ३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्राको सञ्चिति बढ्दा वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि बलियो भएको छ । आर्थिक वर्ष २०८०÷८१ को तीन महीनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२ दशमलव ४ महीनाको वस्तु आयात र १० दशमलव ३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
चुलियो रेमिटेन्स
चालु आर्थिक वर्षको तीन महिनामा रेमिटेन्स आप्रवाहमा उच्च वृद्धि भएको छ । असोज मसान्तसम्ममा रेमिटेन्स ३० प्रतिशतले बढेको छ । साउनदेखि असोजसम्ममा ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको तथ्यांकले देखाएको छ । अमेरिकी डलरमा रेमिटेन्स २५.९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।जसअनुसार तीन महिनामा २ अर्ब ७६ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा पनि ७.९ प्रतिशतले मात्रै बढेको रेमिटेन्स चालु आवको तीन महिनामा भने उल्लेख्य बढेको हो । चालु आवको भदौमा मुलुकमा रेमिटेन्स २२.१ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब रुपैयाँ भित्रिएको थियो । यस्तै साउनमा रेमिटेन्स २५.८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब रुपैयाँ भित्रिएको थियो ।
वैदेशिक व्यापार
चालु आर्थिक वर्षको तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ९.४ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैंची, पोलिस्टर धागोे लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।
असोज मसान्तसम्म कुल वस्तु आयात १.७ प्रतिशतले वृद्घि भई ४०७ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः २.४ प्रतिशत र ४२.४ प्रतिशतले वृद्घि भएको छ । अन्य मुलुकतर्फको आयात २२.८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, सुन, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
चालु आबको ३ महिनामा कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले वृद्घि भई ३६६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो ।
खर्च तथा राजस्व
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को तीन महिनामा नेपाल सरकारको कुल खर्च २८० अर्ब ५७ करोड भएको छ । सरकारी खर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र बढेको छ । समीक्षा अवधिमा चालु खर्च २१३ अर्ब ३९ करोड, पँुजीगत खर्च रु.१७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च ४९ अर्ब ३५ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन २१९ अर्ब १२ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.१९९ अर्ब ४६ करोड र गैर कर राजस्व रु.१९ अर्ब ६५ करोड परिचालन भएको छ ।
मुद्रास्फीति
चालु आबको असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलपूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२.११ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.२५ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६२ प्रतिशतले घटेको छ ।
२०८० असोज महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो ।
३ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति १३.७३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ५.३० प्रतिशत, १.३२ प्रतिशत र २.९७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ०.३४ प्रतिशतले घटेको छ ।
३ अर्ब वैदेशिक लगानी भित्रियो
चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । राष्ट्र बैंकका अनुसार यो अवधिमा ३ अर्ब ३७ करोड लगानी भित्रिएको हो । अघिल्लो वर्षको तुलनामा यो उच्चदरको वृद्धि हो । गत वर्ष असोजसम्ममा ७ करोड ९६ लाख रुपैयाँमात्र खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
उद्योग विभागको तथ्यांकअनुसार चालु आवको असोजसम्म १६ अर्ब ६० करोड रुपैयाँबराबरका विदेशी लगानीका परियोजना दर्ता भएका छन् । साउनमा उल्लेख्य लगानी प्रतिवद्धता रहे पनि भदौ र असोजमा अघिल्लो आवको तुलनामा कम छ । अघिल्लो वर्ष असोजमा २ अर्ब ९२ करोड लगानी प्रतिवद्धता रहेकोमा चालु वर्षमा भने १ अर्ब ९८ करोड प्रस्ताव आएको छ । चालु आवमा नयाँ लगानीका निमित्त विदेशी लगानीकर्ता उदासीन रहे पनि अघिल्ला वर्षहरुमा गरिएको प्रतिवद्धता अनुसार मुलुकमा विदेशी लगानी भित्रिन लागेको पाइएको छ ।
यसअघि गत चैतमा १० करोडसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृत गर्ने निर्णय गरेको सरकारले लगानीका क्षेत्र तोकेर यसको सीमा ५० करोडसम्म पु¥याएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा स्वचालित स्वीकृति प्रक्रिया सम्बन्धी व्यवस्था गर्न सकिने प्रावधान छ । जसअनुसार सरकारले राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल, सहज बनाउन प्रचलित कानुनबमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरु स्वचालित मार्गबाट प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । ऐनको दफा ४२ (२) मा ‘अटोमेटिक रुट तथा विद्युतीय प्रणाली (अनलाइन सिस्टम) सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने’ उल्लेख छ ।
यता, नेपालमा सञ्चालित वैदेशिक लगानीका उद्योगहरुको औषत नाफा १४.३ प्रतिशतमात्र रहेको एक अध्ययनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८–७९’ अनुसार मुलुकमा सञ्चालित वैदेशिक लगानीका उद्योगहरुको औसत नाफा १४.३ प्रतिशत मात्र छ । वैदेशिक लगानीका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन समेत हुन नसकेको अध्ययनमा उल्लेख छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । मुलुकमा विदेशी लगानीको अधिक सम्भावना रहेको भन्दै लगानी सम्मेलन आयोजना गर्न लागिएका बेला हाल सञ्चालित उद्योगहरुको नाफा भने औषतमात्र देखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar