रौतहट – रौतहटमा बिरामीको मृत्यु पछि अस्पताल बन्द भएको छ। अस्पतालनै बन्द गरेर सञ्चालक र चिकित्सकहरु फरार भएका छन् ।
उक्त अस्पतालमा चिकित्सकको लापरवाहीका कारण जिल्लाको गरुडा नगरपालिका–८ विर्तामा सञ्चालित ईमरजेन्सी जन सेवा अस्पतालमा पाठेघर (बच्चादानी) को उपचार गराउन गएकी चन्द्रपुर नगरपालिका–७ बनबौहरिका इब्राहिम सिद्धिकीका ३० वर्षिया श्रीमती नुरजहान खातुनको अप्रेशनका क्रममै मृत्यु भएको छ ।
अप्रेशनमा अस्पतालले चरम लापरवाही गरेका कारण बिरामी खातुनको मृत्यु भएको मृत्कका आफन्तहरुले आरोप लगाएका छन् ।एक्कासी पाठेघरमा समस्या आएपछि अप्रेशन गराउन सोमवार दिउँसो महिला खातुनलाई सो अस्पताल पुर्याइएको थियो ।मृतक महिलाका श्रीमान इब्राहिम सिद्धिकीका अनुसार खातुनलाई सोमवार राति ८ बजेको समयमा चिकित्सकले अप्रेशन गर्न लगेका थिए । तर अप्रेशनमा चिकित्सकले चरम लापरवाही गरेका कारण आफना श्रीमती खातुनको सोमवार राति २ बजेको समयमा मृत्यु भएको उनले बताए ।
खातुनको राति २ बजे नै मृत्यु भइसकेको भएपनि चिकित्सकले बिरामीलाई यहाँ ठिक हुँदैन आइसीयूमा राख्नुपर्छ भनी करिव ३ बजेको समयमा विरगंजको मेट्रोसिटी अस्पतालका लागि रेफर गरेको उनले बताए ।
आफना श्रीमतीको जन सेवा अस्पतालमानै मृत्यु भइसकेको कुरा अस्पताल चिकित्सकलाई राम्ररी थाहा भएको बताउँदै मृतकका श्रीमान सिद्धिकीले खातुनको मृत्यु भएको कुरा लुकाउन उनीहरुले अन्यत्र रेफरको बाहाना गरेको उनले बताए ।
खातुनलाई वीरगंजको मेट्रोसिटी अस्पताल लग्ने बित्तिकै चिकित्सकले मृत घोष्णा गरेका थिए । अप्रेशन गर्न दक्षता नभएको चिकित्सकले जबरजस्ती अप्रेशन गर्न खोज्दा खातुनको मृत्यु भएको उनको आरोप छ ।
उपचारमा संलग्न चिकित्सकको सर्टिफिकेट, एनएमसी नम्बर इत्यादि कागजात चेकजाँच गर्नुपर्ने र अप्रेशन गर्न अनुमति प्राप्त नगरेको ठहर भए हदैसम्मको कार्यवाही गर्नुपर्ने पीडित पक्षको माग छ ।उपचारमा चिकित्सकले सावधानी नअपनाएको र गम्भीर लापरवाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृत्कका आफन्तले मंगलवार विहान जन सेवा अस्पताल घेराउ गरी विरोध प्रदर्शन गरेका थिए ।
दोषी चिकित्सक र हस्पिटल सञ्चालकलाई पक्राउ गरी उनिहरुमाथी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गर्नुपर्ने, उचित क्षतिपुर्ति दिनुपर्ने लगाएतका माग गर्दै मृतकका आफन्तहरुले शव राखेर मंगलवार विहान अस्पताल अगाडि प्रदर्शन गरेका थिए ।प्रहरीले दोषी अस्पताल सञ्चालक र चिकित्सकलाई कानुनी कार्यवाही गर्ने सहमति जनाएपछि पीडित परिवारले शव उठाएका थिए ।यता बिरामी खातुनको मृत्यु भएपछि ईमरजेन्सी जन सेवा हस्पिटलका सञ्चालक जिंगडिया निवासी राजेन्द्र महतो र चिकित्सकहरुले मंगलवार विहानदेखी अस्पताल बन्द गरेर फरार भएका छन् ।
फरार भएका सञ्चालक महतो र चिकित्सकको खोजी कार्य भइरहेको तथा घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar