काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् ।
उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासचिव गुटेरेसले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।
यस्तै, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् ।
भ्रमणका क्रममा भोलि उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ । पर्सि मङ्गलवार दिउँसो ४ बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar