काठमाडौँ – चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक जितेर नेपाली खेल टोली मंगलबार स्वदेश फर्किने भएको छ ।
नेपाली खेल टोली सवार विमान विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।विमानस्थलमा स्वागत गरेपछि खेलाडीहरुलाई नगर परिक्रमा गराइने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई विमानस्थल, गौशाला, चावहिल, नारायण गोपाल चोक, प्रहरी प्रशिक्षण प्रतिष्ठान, लैनचौर, केशरमहल, दरवारमार्ग, भद्रकाली, शहिदगेट हुँदै त्रिपुरेश्वस्थित दशरथ रंगशाला पु¥याइने छ ।
त्यसपछि त्रिपुरेश्वरमा पदक विजेता खेलाडीको सम्मान गर्ने कार्यक्रम रहेको छ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् ।
पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको नेपालले जितेको यो तेस्रो रजत पदक हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।सविताले जितेको त्यो पदक एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा नेपालले जितेको पहिलो रजत पदक थियो । यसका अतिरिक्त सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो ।
त्यसपछि कराँते एसियाली खेलकुदमा देशका लागि रजत पदक जित्ने तेस्रो खेल बनेको हो । एसियाली खेलकुदमा नेपाली कराँते खेलाडीले यसअघि कांस्य पदकमात्र जित्न सकेका थिए । त्यसैले यो पदक नेपालका लागि ऐतिहासिक बन्न पुगेको छ ।
यसैगरी १९औँ एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । महिला कबड्डी टोली एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो । त्यसैले यो पदक पनि नेपाली खेलकुदका लागि ऐतिहासिक बनेको छ ।
कति पाउँछन् पुरस्कार ?
चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने नेपाली खेलाडी एरिका गुरुङले सरकारबाट १९ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएकी छन् । कराँते खेलाडी एरिकाले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् । राष्ट्रिय खेलकुद विकास नियमावली—२०७९ ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुले पाउने नगद पुरस्कारको बारेमा ब्यवस्था गरिएको छ ।
एसियाली खेलकुदमा रजत पदक जित्ने खेलको सम्बन्धित खेल संघले पनि ६ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । यसैगरी १९ औँ एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । कांस्य पदक जितेवापत महिला कबड्डी टोलीका खेलाडीले भने जनही तीन लाख ९० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar