काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताए ।
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री आचार्यले राज्यको सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती खडा भएको उल्लेख गरे ।
बालसुधार गृहको अवस्थाले सबैलाई लज्जाबोध सिर्जना गरेको बताउँदै मन्त्री आचार्यले न्यूनतम पूर्वाधारको अभावमा त्यहाँ रहेका बालबालिका शौचालय जानसमेत लाइन बस्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले मुलुकका आठ स्थानमा सञ्चालनमा रहेका सुधार गृहको कमजोर भौतिक पूर्वाधारका कारण क्षमताभन्दा दोब्बर बढी सङ्ख्यामा बालबालिका राख्न बाध्य भएको बताए ।
उनले युसेफ नामक गैरसरकारी संस्थाको सञ्चालनमा भक्तपुर, मोरङ, कास्की र बाँके र सरकारी स्वामित्वमा डोटी, पर्सा, मकवानपुर र रुपन्देहीमा सुधार गृह सञ्चालन भइरहेको बताए ।
समितिले केही समय अघि बालसुधार गृहमा भएको तोडफोड र झडपको घटनापछि अनुगमन गरी छलफलका लागि मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar