काठमाडौं– द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण सङ्कलन शुरु भएको छ ।
इजरायलमा रहेको नेपाली दूतावासले अनलाइन रजिस्ट्रेशनमार्फत स्वदेश फर्किन चाहने नेपालीको विवरण सङ्कलन शुरु गरेको जनाएको हो ।
समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना सङ्कलनको काम शुरु गरिएको दूतावासले जनाएको छ ।
अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै अनलाइन रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले अनुरोध गरेको छ । इजरायलमा ४ हजार ७ सयभन्दा धेरै नेपालीहरु रहेका सरकारले जनाएको छ । ४ हजार ५ सय नेपाली केयरगिभरको रूपमा कार्यरत छन् । त्यस्तै, २ सय ६५ विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययन गरिरहेका छन् ।
कृषि विश्वविद्यालयबाट १ सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इजरायल गएको तथ्याँक छ ।
सरकारले आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन आवश्यक पहल भैरहेको पनि जनाएको छ । परराष्ट्र मन्त्रालयले मृतकको शव यथाशक्य छिटो नेपाल ल्याउन एवम् घाइतेहरुको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भैसकेको जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar