काठमाडौं– पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको भदौ २७ गतेदेखि खोप अभियान सञ्चालन गरेको थियो ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्यअनुसार नै किशोरीहरुले एचपीभी खोप लगाएको बताए ।
सरकारले भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जमा रहेको नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो ।
साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।
अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भइ १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आउँदो माघमा सञ्चालन गरिने डा. गौतमले जानकारी दिए ।
नेपाल सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । यो खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar