काठमाडौं– हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ ।
आज बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १७९ रन जोड्यो ।
यो नेपाल र भारतबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालले एसिया कपमा भारतसँग पहिलो एकदिवसीय खेल खेलेको थियो ।
आज पिङफेङमा नेपालका ओपनरद्वय कुशल भुर्तेल २८ रन र आसिफ शेख १० रनमा आउट भए । कुशल मल्लले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे ।
रोहित पौडेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्का हिर्काउँदै ३५ रन बनाए । ऐरीले १४ ओभरमा शिवम् दुवेलाई लगातार ३ छक्का प्रहार गरेका थिए ।
सोमपाल कामी ७, गुल्सन झा ६ रन र सन्दीप लामिछाने ५ रनमा आउट भए । करण केसीले १३ बलमा नटआउट १८ रन जोड्दा १ चौका र २ छक्का प्रहार गरे ।
खेलमा नेपालले भारतविरूद्ध १४ छक्का र ११ चौका हिर्काएको थियो । नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो ।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar