काठमाडौं– २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरूको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन अहिलेसम्मकै ठूलो मेगावाट क्षमताको जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । मन्त्री बस्नेतले आज मङ्गलवार आयोजित विशेष समारोहबीच आयोजनाको
बाँधलगायतका संरचना (हेडवर्क्स) निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहलगायतका संरचनाहरू निर्माणाधीन छन् ।
आयोजनाको मुख्य निर्माण २०७८ साल पुसदेखि शुरु गरिएको थियो । भूमिगत विद्युत् गृह, मुख्य सुरुङ, बाँधलगायतका संरचनाहरूको निर्माण तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण शुरु गरिने छ ।
आयोजनाको प्रवर्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ ।
आयोजनाबाट वर्षभरि नै १ सय ४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको काम २०८३ साल मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar