पटक - पटक राहुल आफैं पुगेका थिए विमानस्थल भन्सार
काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले चाहे गत माघमा हराएको ९ किलोग्राम सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाबु छोरामाथि पनि अनुसन्धान हुने देखिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गत २७ असारमा ९ जना विरुद्ध आपराधिक विश्वासघात र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । यसमा भन्सार छलीको कसुर पनि आकर्षित हुने भएकाले भन्सार कार्यालयले फेरि अनुसन्धान गरेर सुन ल्याउने समूह वा त्यसका सहयोगीलाई कानुनी दायरामा ल्याउन सक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा संगठित अपराध र आपराधिक विश्वासघातमा मात्रै मुद्धा चलेकाले अझै भन्सार छलीको कसुरमा अनुसन्धान गर्न सकिने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार फेरि अनुसन्धान हुँदा महराका छोराद्धय राहुल र निर्मल महरा पनि छानबिनको दायरामा आउन सक्नेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा गत माघ २९ मा दुई वटा सुटकेसभित्र ७३ वटा बट्टामा रहेको ७३० थान ई–सिगरेट भेप बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरी ९ किलो सुन बिक्री गरेको खुलेको थियो । भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको खुलेको थियो ।
यसबारे अनुसन्धान गरेको सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा सुन बिक्री गर्ने र सुन किन्ने समूह विरुद्ध संगठित अपराध र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चल्यो । तर सीआईबीको ९० दिन लामो अनुसन्धानमा सुन तस्करी गर्ने मुख्य समूहसम्म पुगेको थिएन ।
सीआईबीकी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सुन सहितको भेप आएको तीन महिनापछि मात्र अनुसन्धानको जिम्मा आपूmहरुले पाउँदा सुन ल्याउने गिरोहसम्म पुग्न नसकिएको बताउँछिन् । ‘हामीकहाँ अनुसन्धानका लागि भन्सार कार्यालयले पठाउनुभन्दा धेरै अघि चिनियाँ नागरिकले नेपाल छाडिसकेका थिए, जसले गर्दा अनुसन्धानमा सहज स्थिती भएको छैन’, उनले भनिन् ।
मिसिल अदालत पुगेपछि मात्र खुलेको थियो महरा बाबु छोराको कनेक्सन
विमानस्थल भन्सार कार्यालयले पठाएको पत्रका आधारमा सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेको बताएको छ । त्यसैको आधारमा सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा राय सहितको प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा यो प्रकरणमा जोडिएका व्यक्तिहरुको कल डिटेल रेकर्ड (सीडीआर) को विश्लेषण चार्ट समावेश थियो, जसले सुन ल्याउने समूहका चिनियाँ नागरिक लुई र डाओजिन वाङको पूर्वसभामुख समेत रहेका माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासँग सम्पर्क भएको देखिएको थियो । जहाँ सुन ल्याउने चिनियाँ नागरिक लुई र कृष्णबहादुर महरा ९८५१८८८३८८ बीच ११ पटक सम्पर्क भएको देखाइएको छ ।
तर मुद्दा चलाउन ठोस आधार नदेखिएको भन्दै प्रहरीले उनीहरुलाई प्रतिवादी बनाउन सिफारिस नै नगरेको पाईएको छ । चिनियाँ नागरिकसँग सम्पर्क देखिएकाले शंकाको दायरामा राखेर अनुसन्धान गरिएको सीआईबीकी निर्देशक एआईजी बज्राचार्यले बताईन् । ‘उनीहरुको सम्पर्क विवरण केलाएका छौं, जहाँसम्म कृष्णबहादुर महरा र उहाँको छोराको कुरा छ, मुद्दा चलाउन ठोस आधार नदेखिएकाले प्रतिवादी बनाइएको छैन ।’ तर कल डिटेल रेकर्डको विश्लेषण चार्ट अभियोग पत्रमा पनि समावेश भयो, जुन बाहिरिएपछि भेप मार्फत भएको ९ किलो सुन तस्करीमा महरा परिवार पनि जोडियो ।
उता महराले भने त्यो नम्बर आफ्नो नभएको भन्दै आवश्यक परे छानबिनमा सहयोग गर्ने भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी गराईसकेका छन् । त्यसो त महराको भनी समावेश उक्त टेलिफोन नम्बर उनका छोरा निर्मलको भएको पाइएको छ । स्रोतका अनुसार, प्रहरीले प्रतिवेदनमा समावेश गरेको नेपाल टेलिकमको मोबाइल नम्बर निर्मलको नाममा २०६७ चैत ६ मा दर्ता भएको पाईएको छ ।
प्रहरीले महराको भन्दै उल्लेख गरेको नम्बरमा शुभयुग मिडियाले टेलिफोन गर्दा पनि उनका छोरा निर्मलले नै उठाएका थिए । ‘यो नम्बर बुबाले चलाउनुभएकै छैन, २० वर्षजति भयो मैले चलाएको । टेलिकममै सोध्नुभए हुन्छ’, उनले भने । ‘भाइ राहुल र मेरो चाहिं पछाडिको नम्बर उही छ, के आधारमा राख्यो थाहै छैन ।’
त्यसो त त्यस नम्बरमा चिनियाँ नागरिक लुईले मात्र ११ पटक सम्पर्क गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । त्यस्तै अर्का चिनियाँ नागरिक डाओजिन वाङले पनि ११ पटक फोन गरेको उल्लेख छ । जहाँ महराका अर्का छोरा राहुलले ९८५१८८८८८८ नम्बरबाट १३१ पटक चिनियाँ नागरिक वाङलाई फोन गरेका छन् भने वाङले ६४ पटक उनलाई फोन गरेका छन् ।
निर्मलले भने वाङलाई स्याउ व्यापारीको रुपमा चिनेको र ‘त्यही आधारमा विमानस्थलमा केही सामान रोकियो भनेपछि भाइले त्यहाँका अधिकृतसँग बुझेको’ बताएका छन् । पुरानै चिनजान भएकाले विमानस्थलमा चिनेका अधिकृतलाई भाइले फोन गरेको भन्दै उनले उसले अरु के काम गर्छ भन्ने थाहा नभएको बताएका छन् । त्यस्तै उनले अर्का चिनियाँलाई चिन्दै नचिनेको समेत बताउका छन् ।
प्रहरीले उल्लेख गरेको चार्टमा चिनियाँ नागरिकसँग लोकेन्द्र पौडेल नाम गरेका व्यक्तिको पनि सम्पर्क भएको उल्लेख छ । त्यस्तै श्याम शाह नाम गरेका व्यक्तिले पनि उनलाई ९० पटकसम्म सम्पर्क गरेको भनिएको छ । यद्धपी पौडेलले भने आफू चिनियाँ नागरिक लुइको सवारी चालक भएको बताँउदै आएका छन् । त्यस्तै उनले शाह भन्ने व्यक्ति पनि चिनियाँ नागरिक लुईसँग भेट्न कार्यालय आइरहने बताए । अफिसमा आइरहने भएकाले शाहसंग आफ्नो सम्पर्क रहेको उनले बताएका छन् ।
उता शाहले पनि कानुन व्यवसायीसमेत रहेका भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेलाई १३५ पटक सम्पर्क गरेको विवरण प्रहरीले समावेश गरेको छ । न्यौपानेले माछा, फलफूल लगायत सामग्री अड्कियो भन्दै आफूसँग पहिले सम्पर्क गर्ने गरेको बताएका छन् । त्यस्तै उनले पहिले पहिले छुटाइदिने गरेको पनि स्विकार गरेका छन् । ‘मलाई यसपटक पनि उनले फोन गरेका थिए । तर, ई–सिग्रेट भनेपछि लिलाम हुँदैन भनेर गएको थिइनँ ।’ न्यौपानेले भने । आफू भन्सार एजेन्ट भएकाले आफ्नो सम्पर्क हुनु सामान्य कुरा भएको उनी बताँउछन् ।
पटक – पटक राहुल आफैं पुगेका थिए विमानस्थल भन्सार
भेप लिलामीबारे चासो राख्दै कृष्णबहादुर महरा पुत्र राहुल आफैं पटकपटक विमानस्थल भन्सार कार्यालय पुगेको देखिएको छ । तत्कालीन भन्सार प्रमुख प्रशासक अरुण पोखरेलले प्रहरीमा गरेको कागज अनुसार, चिनियाँ नागरिक ली हानसोङले लिएर आएको ब्यागेजमा ‘ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेट’ देखिएपछि व्यापारिक प्रयोजनका लागि ल्याएको हुनसक्ने आशंकामा जफत गरिएको थियो ।
‘यात्रु जाँचपास तथा सहजीकरण शाखामा ड्यूटीमा रहेका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले उक्त सामान सहितको ब्यागेज जफत गरेका रहेछन्’ पोखरेलले सीआईबीमा भनेका छन्, ‘जफत भएको सामग्री कारबाहीका लागि मुद्दा तथा लिलामी शाखामा पठाउने क्रममा टाइपिस्ट नासु सरोज श्रेष्ठले फोटो खिचेका रहेछन् ।’ सुर्तीजन्य पदार्थ भएकाले त्यो लिलाम हुने सम्भावना थिएन । सीआईबीका एक अधिकृत भन्छन्, ‘त्यहीबीच केही मान्छेहरु पटकपटक भेपबारे सोध्दै आएपछि शंका लागेको रहेछ ।’
स्रोतका अनुसार, भेपबारे चासो लिंदै राहुल महरा पटक–पटक विमानस्थल भन्सार कार्यालय पुगेका थिए । भन्सारका अधिकृत मुक्तिप्रसाद श्रेष्ठले पनि प्रहरीलाई दिएको बयानमा जफत भएको भेपको लिलामी प्रक्रियाबारे राहुलले सोधपुछ गरेको बताएका छन् । जफत भएको सामान लिलामी शाखामा पठाइने र नियम अनुसार लिलाम हुने भए बोलकबोल सूचना प्रकाशित हुने, नभए नष्ट गरिन्छ भनेर आफूले भनेको भन्दै उनले भनेका छन् , ‘त्यसबारे सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनेर जानकारी गराएको थिएँ ।’ उनले भने ।
सीआईबीका अनुसार, चिनियाँ नागरिकहरुले पनि भेपबारे चासो राख्दै विमानस्थल भन्सारका तत्कालीन प्रमुख प्रशासक सहसचिव अरुण पोखरेल लगायतलाई पटक–पटक भेटेका थिए । यसले भन्सार अधिकारीहरुलाई थप सशंकित बनाएको देखिन्छ ।
‘बजार मूल्य अनुसार झण्डै ५ लाख रुपैयाँको सामानका लागि उहाँहरुबाट बारम्बार दबाब आयो, त्यसले भन्सारका अधिकारीहरुलाई शंका लागेको रहेछ’ ती अधिकृतले सुनाए, ‘धेरै प्रेसर गरेपछि शंका लागेर यसमा अनुसन्धान भइरहेको छ, लागूऔषध वा अरु केही हुनसक्ने देखिन्छ भनिदिएछन् ।’ चिनियाँहरु आउन छाडे । केही समय पछाडि हेर्दा भेप भएको बाकस सही अवस्थामा देखिएन । ‘सुटकेस त्यही थियो, भित्रको सामान फेरिइसकेको थियो’ सीआईबीका अनुसन्धान अधिकृतहरु भन्छन् ‘पहिले जाँच गर्दा खिचेको फोटोसँग मिलेन । त्यसपछि भन्सारका अधिकारीहरुले खोधखोज थालेको पाइएको छ ।’
त्यसक्रममा गोदाम व्यवस्थापनमा खटिने नायब सुब्बा खड्कालाई बोलाएर भन्सारका हाकिमहरुले सोधपुछ गरेका थिए । सुरुमा त उनले त्यहीं ‘मिसप्लेस’ भएको हुनसक्ने बताएपछि सामान दुरुस्त हालतमा दाखिला गर्नु भनेको प्रमुख भन्सार प्रशासक पोखरेलले खुलाएका छन् । ‘पटक – पटक सामानको सम्बन्धमा ताकेता गर्दा पनि उनले कार्यालयमा उपस्थित नहुने, कार्यालयले पत्राचार गर्दासमेत पत्र बुझ्न नआउने गर्न थालेपछि यथार्थ व्यहोरा नखुलाएमा प्रहरीको सहयोगमा फौजदारी कसुरमा मुद्दा दर्ता गर्ने भनेपछि बल्ल भेपमा सुन रहेको खुलाएका थिए’ उनले प्रहरीसँग भनेका छन् ।
अधिकृतहरुका अनुसार, भन्सारले बरामद गरेको भेपमा सुन रहेको सुनेको भन्दै बिचौलिया दिनेशले जानकारी गराएपछि नायब सुब्बा खड्काले जाँच गरेका थिए । ‘प्रशासनिक भवनको गोदाममा सीसी क्यामेरा भएकाले कार्गो भवनको १११ नम्बर कोठामा सारेर जाँच गरेको पाइएको छ’ सीआईबीकी निर्देशक बज्राचार्य भन्छिन् ‘भन्सारले बरामद गरेको मालवस्तु मूल्यांकन समितिबाट मूल््यांकन भए पनि स्वास्थ्यमा असर गर्ने प्रकृतिको भएकाले लिलाम बिक्री नभई थन्किएको अवस्थामा सुन रहेको थाहा पाएपछि मिलेमतोमा चोरी गरेको पाइएको छ ।’
उनीहरुले अर्कै ब्राण्डको ई–सिगरेट राखिदिएको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् । अनुसन्धान अधिकृतहरुका अनुसार, ९ किलो सुन संकलन गरेर बस्नेतले भन्सारमा कार्गो एजेन्टका रुपमा काम गर्ने भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीको सहयोगमा बिक्री गरेका थिए ।
सीआईबीको अनुसन्धानका क्रममा ६ करोड रुपैयाँमा उनीहरुले सुन बिक्री गरेको पाइएको छ । नासु खड्काले सुन चोरी गर्न सघाएवापत बिचौलिया दिनेशबाट ७५ लाख रुपैयाँ लिएकोसमेत खुलाईसकेका छन् ।
सुन काण्डमा भन्सार एजेन्ट र कर्मचारीसँग पूर्वसभामुख महरा बाबुछोराको नियमित सम्पर्क
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar